पाल्पा,नेपाली काँग्रेस पाल्पाका सभापति तथा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार हिमादत्त श्रेष्ठले पश्चिम पाल्पामा कांग्रेसको कसैलाइ काखापाखा नगरि विकासकाे जन पक्षमा जनलहर बढ्दै गएको बताएका छन् । नेता श्रेष्ठले अरूले गफ गर्ने तर आफूले काम गर्ने बताए । “गफभन्दा पनि हामी काम गरेर देखाउन्छौं, जसले काँग्रेसप्रति जनताको विश्वास बढ्दो छ,” उनले भने । श्रेष्ठले काँग्रेसको पक्षमा व्यापक जनलहर आएकाले विरोधीहरूमा तरंग उत्पन्न भएको बताए ।“हाम्रो पार्टीले समाजमा विचारको नयाँ तरंग उब्जाएको छ, जसले गर्दा विरोधी अत्तालिएका छन्,” श्रेष्ठले भने, “ काँग्रेस बदलिएर आएको छ, युवा नेतृत्वका साथ अघि बढेका छौं, नयाँ विचार र नयाँ योजनाका साथ अगाडि बढेकाले काँग्रेसका उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी बनाउनुहोस् ।” उनले निर्वाचनपछि पछि बन्ने नेपाली काँग्रेसको सरकारले गाउँमै कृषि, घरेलुु उद्योगहरुको स्थापना गरी युवाहरुलाई उद्यमीशीलता र रोजगार प्रदान गर्ने समेत श्रेष्ठले उद्घोष गरे ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा दुई दर्जन युवाहरु प्रवेश गरेको सचिवालय सदस्य दिपक पोखरेलले जानकारी दिए । उनका अनुसार काँग्रेसले नयाँ अनुहार र युवा उम्मेदवारलाई उठाएपछि पश्चिम पाल्पामा युवाहरु उत्साहित भएका छन् । यस क्षेत्रमा काँग्रेसको पक्षमा जनलहर बढेको पोखरेलले बताए । नवप्रवेशी युवाहरुले भ्रम, अस्थिरता र भीडको राजनीतिले देशको भविष्य नबन्ने निष्कर्षसहित स्पष्ट विचार, नीति र सिद्धान्त बोकेको दल नेपाली कांग्रेसमै आफ्नो राजनीतिक यात्रा अघि बढाउने निर्णय गरेको बताएका छन् । बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेस जनताको भरोसाको केन्द्र बनेको र आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन संगठित रूपमा लाग्ने प्रतिबद्धता समेत उनीहरुले व्यक्त गरेका छन् ।



पाल्पा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ पाल्पाबाट नेपाली कांग्रेसका उम्मेदवार सन्दिप रानाले पाल्पा क्षेत्र नं. १ मा परिवर्तनको स्पष्ट लहर आएको बताउनु भएको छ । ३३ वर्षदेखि अन्य राजनितिक दलले नेतृत्व गर्दै आएको यस क्षेत्रमा जनता परिवर्तनको पक्षमा रहेको बताउनुभएको हो । माथागढी गाउँपालिकाका विभिन्न गाउँ टोलमा चुनावी प्रचार–प्रसारका क्रममा पुग्नु भएका रानाले गाउँ घरमा आएको परिवर्तनको लहरलाई परिणाममा बदल्ने समय आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो- ” विगतका प्रतिनिधिहरूलाई म आरोप लगाउदिन । उहाँहरुले यस क्षेत्रका लागि जे जति गर्नुभयो आफ्नो क्षमता अनुसार गर्नुभयो । तर म देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये पाल्पा क्षेत्र नम्बर १ लाई उत्कृष्ट क्षेत्र बनाउन लागि पर्नेछु ।” चुनाव प्रचार प्रसारको क्रममा मतदाता माझ पुग्नु भएका रानाले बुधबार माथागढी गाउँपालिका ६ को जगात, वडा नं. ५ को हातिलुङ, वडा नं. ४ को झडेवा र वडा नम्बर ७ को रहबास, मटेरीमा जनतासँग भेटघाट गर्नु भएको थियो । यस पटकको निर्वाचन विगतको तुलनामा फरक किसिमको निर्वाचन रहेको उहाँले बताउनुभयो । ”
२००७ सालको क्रान्तिपछि २०१५ सालमा भएको निर्वाचन, २०४६ पछिको निर्वाचन १० वर्षे जनयुद्धपछि २०६४ सालमा भएको निर्वाचनमा जनतामा एक किसिमको कौतुहलता थियो, रानाले भन्नुभयो-“सुशासन र भ्रष्टाचारको अन्त्यका लागि जेनजी आन्दोलन” पश्चात हुन लागेको यस निर्वाचनमा पनि जनता परिवर्तनको पक्षमा छन् ।” मतदाताका गुनासाहरू सुन्दै रानाले रोजगारीका लागि अधिकांश युवाहरू वैदेशिक रोजगारमा जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै रोजगार र स्वरोजगारको लागि खाका तयार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ” पाल्पा क्षेत्र नम्बर १ का १० हजार भन्दा बढी युवाहरू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । उहाँहरुलाई परिवारसँगै स्वदेशमा बसेर काम गर्ने वातावरण तयार पार्नका लागि सिङ्गो क्षेत्र नं.१ को लागि खाका तयार पारेका छौं ।”









