पाल्पा/विवाह पञ्चमीको अवसरमा रामपुर नगरपालिका–३ सीताकुण्डमा हुन गैरहेको राम–सीता विवाह उत्सवको तयारी तिव्रगतिमा भैरहेको रामपुर नगरपालिकाले जनाएको छ । धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न आगामी मङसिर ९ गते हुन लागेको उत्सवको तयारीको कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।
शनिबार पत्रकार सम्मेलन गरी नगरपालिकाले तयारीको विषयमा जानकारी दिएको हो । वडा नं. ५ बाट बेहुला पक्ष भएर जन्त जाने र वडा नं. ३ र ४ का स्थानीय र सरोकारवालाहरुले माइती पक्षको रुपमा स्वागत गर्ने कार्यक्रम रहेको छ । त्रेतायुगमा भगवान राम चन्द्र वनबासको क्रममा स्नान गरेको पवित्र भुमि वडा नं. ५ स्थिति कालीगण्डकी किनारको रामघाटमा बाट जन्त निकाल्ने, रामपुर क्षेत्रमा घुम्ने क्रममा भगवान सीता रजस्वाला भएको समयमा भगवान रामले वाण प्रहार गरी पानी निकालेर नुहाउने व्यवस्था मिलाएको वडा नं. ३ स्थित सीताकुण्डमा जन्तलाई स्वागत गरी विवाह उत्सव मनाउने तयारी गरिएको हो । रामपुर नगर भित्र रामघाट, सीताकुण्ड, राम चुल्हो, राम्चे, राम कुवा लगाएतका धार्मिक स्थलहरु रहेको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विवाह उत्सवको बारेमा जानकारी दिदै नगर भित्र रहेका भगवान राम र सीता संग सम्बन्धित ऐतिहासिक धार्मिक धार्मिक स्थलहरुको महत्व उजार गर्न यस वर्ष सीताकुण्डमा विवाह पञ्चमी भव्यताका मनाउन लागिएको जानकारी दिनुभयो । नगर भित्रका महत्वपूर्ण धार्मिक स्थलको संरक्षण संगै महिमाको प्रचार प्रसार गरी धार्मिक पर्यटन संग जोड्ने मुख्य ध्येय रहेको बताउनुभयो । विवाह उत्सवमा जन्त संगै सीताकुण्ड सम्म पुग्ने धर्मवालम्बीहरुको सहजताको लागि सडक स्तरोन्नति तथा सीताकुण्डमा गाडी पार्किङका लागि व्यवस्थापन गरिएको थापाले जानकारी दिनुभयो । भगवान रामले विचरण गरेको पुण्य भूमि भएकाले सोही आधारमा रामपुर नामाकरण भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले सीताकुण्ड परिसरको सरसफाईलाई ध्यानमा राख्दै पलाष्टिक जन्य सामाग्री निषेध गरिएको बताउनुभयो । उत्सवमा सहभागी हुन रामपुर नगर संगै कालीगण्डकी वेशीका सरोकारवाला सबैलाई आग्रह समेत गर्नुभएको छ ।



धार्मिक व्यक्तित्व सन्दिप रानाले सीताकुण्डको बारेमा जानकारी दिनुहुँदै स्कन्दपुराण, आनन्द रामायण र कालीदासको मेघदुतमा समेत सीताकुण्डको बारेमा उल्लेख भएको बताउनुभयो । सीताकुण्डको महिमा छुट्टै रहेको बताउँदै भाकल गरेमा मनोकामना पुरा हुन्छ भन्ने स्थानीयमा विश्वास रहेको बताउनुभयो । साथै कुण्डमा पाईने फरक प्रकृतिको जंगली धानको विषेशताको बारेमा पनि जानकारी दिनु भएको थियो । माइती पक्षको तर्फ बाट जन्तको स्वागत, मन्दिरको सरसफाई, खाना तथा प्रसादी व्यवस्थापनका लागि वडा नं. ३ र ४ का स्थानीय, टोल विकास समितिहरु जुटिरहेको बताउनुभयो । १२ स्थानमा स्वागत द्वारा निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।
बेहुला पक्षका सचिवालय समिति संयोजक एवं रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले पञ्चेबाजा र रामपुर नगर भित्रका १३ भन्दा बढी जातजातिको सांस्कृतिक झाँकी सहित सीताकुण्ड जन्त लैजानका लागि तयारीको कार्य भैरहेको बताउनुभयो । वडा नं. ५ को रामघाट बाट जन्त निकाल्ने र राम मन्दिर बाट कसार र दही सहित सगुन दिएर जन्त पठाउने तयारी भैरहेको उहाँले बताउनुभयो । मुख्य पण्डित हरि प्रसाद खनालले विवाह पञ्चमीका दिन विहान रामघाटमा यज्ञ पश्चात ९ बजेको शुभसाइतमा चौरासी पुजा गरिसक्नु भएका जेष्ठ नागरिकहरु बाट जन्तीलाई विदाई गर्ने, राममन्दिर बाट सगुन खाएर विदाई पश्चात धार्मिक व्यक्तित्वहरु महन्त, पण्डित, बटुक सहितको पैदल सीताकुण्ड जाने कार्यक्रम रहेको बताउनुभयो । मौलिक परम्परा अनुसार जन्तलाई सीताकुण्डमा पुगेपछि माईती पक्षले पर्सिने र स्वागत पश्चात कुण्डमा पण्डितहरुको वैदिक विधि पूर्वक विवाह सम्पन्न गरिनेछ । बालनको माध्यम बाट लोकनाटक मार्फत रामसीताको विवाह उत्सवको प्रदर्शन संगै अन्य जातिय झाँकी प्रदर्शनी ३ बजे जन्त फिर्ता भै रामघाट मै आएर विवाह उत्सवको विधि पूर्वक समापन गरिने खनालले बताउनुभयो ।
विवाह उत्सव भव्यताका साथ सम्पन्न गर्नका लागि रामपुर नगरपालिकाले मङसिर ९ गते नगरपालिका मातहतका कार्यालय, सार्वजनिक विद्यालय तथा संघ संस्थामा सार्वजनिक विदा समेत दिएको छ । गत कार्तिक २४ गतेको कार्यपालिका बैठक बाट निर्णय गरी विदा दिने निर्णय गरेको हो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा र रामपुर नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा भएको थियो ।








