latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

पाल्पा १८ भदौ

मोहनकन्या माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७५ वर्ष पुरा गरेको अवसरमा विविध कार्यक्रमको आयोजना गरेर हीरक महोत्सव भब्यरुपमा सम्पन्न गरेकोे छ । सोमबार हीरक महोत्सव समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले पानसमा दीप प्रज्वलन गरि समारोहको समुद्घाटन गर्नुभयो । उहाँले नवनिर्मित स्मारक अनावरण, हीरक द्वार समुद्घाटन र विद्यालयले प्रकाशन गरेकोे आरती स्मारिका विमोचन पनि गर्नुभयो ।
मोहन कन्या मावि तानसेनको हीरक महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले महिलाहरू पुरुष सरह समाजका हरेक क्षेत्रमा अब्बल बन्दै गएको बताउनुभयो । उहाँले पछिल्लो समय न्याय क्षेत्रमा महिलाहरूले देखाएको उत्कृष्ट नतिजाले पनि त्यसको पुष्टि गरेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री आचार्यले विगतमा कन्याहरूले पुरुषहरूसँगै बसेर पढ्न हुन्न भन्ने मान्यता अनुसार छुट्टै रूपमा विद्यालय स्थापना गरिएको भए पनि अहिले पुरुष र महिलाबिच कुनै पनि किसिमको फरकपन नभएको र पुरुष सरह महिला पनि हातेमालो गर्दै अघि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले विद्यालयको छात्रावासमा देखिएको समस्यालाई लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा सम्बोधन गर्ने बताउनुभयो । उहाँले कन्या विद्यालय लुम्बिनी प्रदेशकै गौरव भएकोले यसलाई अन्य विद्यालयमा समायोजन गर्नुहुँदैन । यसलाई जोगाउनु पर्छ र थप उन्नति गर्नुपर्छू भन्ने विचार राख्नुभयो ।

हीरक महोत्सवको उपलक्ष्यमा विद्यालयले वर्षको प्रारम्भदेखि नै विविध कार्यक्रमको आयोजना गरेको थियोे । गत जेठ २७ गते नारी शिक्षा र सामाजिक रुपान्तरण राष्ट्रिय गोष्ठी, असार ६ देखि ८ सम्म तानसेन नगर स्तरीय छात्रा भलिबल प्रतियोगिता, साउन १६ गते नेत्र परीक्षण, साउन २८ गते जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता, भदौ २ गते नगरस्तरीय बेसिक कम्प्युटर हाडबेयर प्रोगामिङ्ग र बेब डिजाइनिङ्ग कार्यक्रम, भदौ ५ र ६ गते रोबोटिक्स ट्रेनिङ्ग लगायत विद्यालय स्तरमा शारीरिक, बौद्धिक, साँस्कृतिक प्रतियोगिताहरू सम्पन्न गरेको थियोे ।
समारोहमा प्रतिनिधि सभा सदस्य माननीय ठाकुरप्रसाद गैरे, लुम्बिनी प्रदेश सभाका माननीय सदस्य वीरबहादुर राना र इन्द्रा गहतराज, पूर्व मन्त्री सोमप्रसाद पाण्डे, संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे, जिल्लाका राजनैतिक दलका प्रतिनिधिहरू, विद्यार्थी, शिक्षक, अभिभावक, बुध्दिजीवी एवं पत्रकारहरुको भव्य उपस्थिति थियोे ।

विशिष्ट अतिथि माननीय ठाकुरप्रसाद गैरेले विद्यालयमा विद्यार्थी संख्या घट्नुको प्रमुख कारण घट्दो जन्मदर रहेको र गुणस्तरीय शिक्षा दिन सके त्यो विद्यालयमा विद्यार्थी, अभिभावकको आकर्षण बढ्छ र विद्यार्थी संख्या पनि बढ्छ भन्नुभयो । यही भदौको अन्त्य सम्ममा नयाँ शिक्षा ऐन पारित भई शिक्षामा विद्यमान धेरै समस्या समाधान हुने विश्वास पनि व्यक्त गर्नुभयो । विद्यालयको जीर्ण छात्रावासका ठाउँमा नयाँ, सुविधासम्पन्न छात्रावास निर्माण गर्ने विद्यालयको अभियानमा आफ्नो भरपुर साथ सहयोग रहने प्रतिवध्दता उहाँले राख्नुभयो ।
समारोहमा पूर्वमन्त्री सोमप्रसाद पाण्डे, संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे, लुम्बिनी प्रदेशसभाका माननीय सदस्य वीरबहादुर राना र इन्द्रा गहतराज, प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवर, प्रदेश मुख्यसचिव बाबुराम अधिकारी, जिल्लाका राजनैतिक दलका नेतागणलगायतले विद्यालयलाई शुभकामना दिनुभएको थियोे ।
वक्ताहरूले विद्यालयमा भौतिक प्रगति भएजस्तै शैक्षिक प्रगति पनि हुनुपर्ने, तल्लो तहमा राम्रो सिकाइ भएमात्र शिक्षाको जग बलियो भई माथिल्लो तहको कक्षामा पढाइ राम्रो हुने, युगले खोजेको, विद्यार्थीले रोजेको र विश्वमै प्रतिस्पध्र्दा गर्न सक्ने शिक्षाको खाँचो रहेको, सरकारबाट युवा पलायन रोक्ने नीति आउनुपर्ने, नारीलाई हेर्ने सामाजिक मनोविज्ञान विरुध्द अझै संघर्ष गर्नुपर्ने खाँचो रहेको जस्ता विचारहरू व्यक्त भएका थिए ।
विद्यालयका प्रधानाध्यापक दीपक ज्ञवालीले विद्यालयले हालसम्म गरेको समग्र प्रगति, भविष्यको योजनाको स्पष्ट खाकासहितको वार्षिक प्रगति प्रतिवेदन तथा रु ३ करोड २८ लाख ५७ हजार ८९१ बराबरको आम्दानी खर्च विवरण प्रस्तुत गर्नुभयो ।समारोहमा आफ्नो विषयमा उत्कृष्ट नतिजा हासिल गराउने शिक्षक र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मानित तथा पुरस्कृत गरिएको थियोे । सो अवसरमा पूर्व शिक्षक, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, वर्तमान शिक्षक स्टाफलाई पनि सम्मान गरिएको थियोे । विद्यालयमा स्थापित विभिन्न अक्षयकोषको रकमबाट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिनुका साथै विभिन्न महानुभावहरुले नयाँ छात्रवृत्ति अक्षयकोषको स्थापना पनि गर्नुभएको थियोे । सभाको अन्त्यमा समारोहका अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठले हीरक महोत्सव सफल पार्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिनुभयो ।
हीरक महोत्सब समारोह कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधान प्रसाद श्रेष्ठको अध्यक्षता प्रधानाध्यापक दीपकप्रसाद ज्ञवालीको स्वागत तथा शिक्षक रिना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय