नेपाली सेनाले अंग्रेज सेनालाई जितगढी युद्धमा हराएको सम्झनामा पाल्पाकाे सदरमुकाम तानसेनमा २ सय ६ औं भगवतीजात्रा मनाइएकाे छ । पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिर सिंह थापाकाे कमाण्डले जितगढी युद्धमा विजयी गरेकाे थियाे ।
जात्राका अवसरमा तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो । बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ । जात्रा अवलोकनका लागि गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही लगायतका जिल्लाहरुबाट श्रद्धालुहरू तानसेनकाे रथयात्रा सहभागी भएका थिए ।



रथयात्रामा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधान सेनापति बलाधिकृत रथी श्री अशोकराज सिग्देल, प्रदेशका मन्त्री, संघीय सांसद, प्रदेश सांसद लगायतका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहेको छ । जात्रा अवलोकनमा आउनुभएका उपप्रधान तथा अर्थमन्त्री पौडेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेले ऐतिहासिक भगवती (सिदुर) जात्राको अत्यन्त महत्व रहेकाले यसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुको साथै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताएका थिए ।
नेपाली सेनाले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको खुसीयालीमा विक्रम सम्वत् १८७७ सालदेखि मनाउन सुरू गरिएको विजय उत्सव यसवर्ष पनि निरन्तरता दिइएको हो । विश्व विजयको यात्रामा हिँडेको अंग्रेज सेनासँग नेपाली सेनाले विक्रम सम्वत् १८७१ पुसदेखि १८७२ जेठसम्म पाल्पाको नुवाकोट र बुटवलको जितगढीमा युद्ध लडेर विजयको झण्डा फहराएको थियो । तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिर सिंह थापाको नेतृत्वमा दुई पटकसम्म भएका युद्धमा अंग्रेज फौजलाई पराजित गरेपछि त्यसको खुसीयालीमा विक्रम सम्वत् १८७७ सालदेखि हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रासहित विजय उत्सव मनाउन सुरू गरिएको हो । आफ्नो साम्राज्यमा कही कतै सूर्य नअस्ताउने भूभाग कोमेको अनि आफुलाई अब्बल दर्जाको रुपमा ठान्ने अंग्रेज साम्राज्यलाई पटकपटक पाल्पा क्षेत्रको बुटवल जितगढीबाट खेदेर परास्त गरेको सम्झनामा भगवती जात्रा मनाईने गरेको समितिका सदस्य सचिव प्रकाशनाथ गंगोलले बताउनुभयो ।
बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिंह थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेअनुसार यो जात्रा मनाउने गरिएको किबदन्ती रहेको छ ।








