latest
विशेषज्ञ चिकित्सकदेखि एनामली स्क्यानसम्म: २४ घण्टे सेवा लाइफकेयर सञ्चालन  ||    बर्तुङ बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न  ||    २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||   
बिहिबार , कार्तिक २७, २०८३

पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा प्रदर्शन गरिएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा सोमबार राति न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि प्रदर्शन गरिएको हो ।
करिब ४ घण्टासम्म चलेको नाच हेर्न दर्शकको ठूलो संख्यामा उपस्थिति थियो । विभिन्न भेषभूषामा सजिएका लाखे र भुच्चाको हाउभाउ कलात्मक थियो । लगातार बाजाको तालमा उनीहरु असिनपसिन भइ नाचेका थिए ।
पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले गत वर्ष झैं यसपालि पनि सो कार्यक्रम गरिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले बताए । उनले आगामी वर्ष पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।
पाल्पा रिब्दीकोट गाउँपालिका वडा ४, भैरवस्थान हटियाबाट सुनिल प्रधानको नेतृत्वमा करिब ४५ सदस्यीय टोली गाडी रिभर्ज गरी पोखरा आएको थियो । यसप्रकारको नाच यसअघि काठमाडौं, चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, दाङलगायतका सहरमा पनि प्रदर्शन भइसकेको राजकुमार रणपालले बताए । यस वर्ष भने पाल्पा भैरव लाखे समूह नाच देखाउन पोखराबाहेक अन्य सहर गएन ।
गाँठेमंगलदेखि कुखुराको भालेलाई बली दिई पूजाआजा गरी सुरु हुने नाच कृष्णजन्माष्टमी पर्वसम्म चल्ने गर्छ । पाल्पालीहरु ५ सय वर्ष पुरानो इतिहास बोकेको यो नाच जोगाउन लागिपरेका छन् ।
पाल्पाली राजा मणिमुकुन्द सेनले राज्य बिस्तारक्रममा काठमाडौं आक्रमण गर्दा त्यहाँको कला संस्कृतिबाट प्रभावित भएपछि पाल्पामा पनि नेवार समुदायका विभिन्न जात्रा एवं पर्वको प्रचलन भित्राएको किंबदन्ती छ । उनले युद्ध जितेपश्चात् मछिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरव मूर्तिलगायत केही कलासंस्कृति एवं काष्ठकलामा निपूर्ण नेवार समुदायलाई पनि सँगै पाल्पा लिएर आएका थिए ।
पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुलीले पोखरामा पाल्पाको लाखे नचाउँदा आपसमा संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने बताए । कार्यक्रमका लागि पाल्पाली समाज पोखरासहित पाल्पा हाउस, पाल्पाली बहुउद्देश्यीय सहकारी र पाल्पा कोलोनीसमेतले व्यवस्थापनमा सघाएका हुन् । कार्यक्रम संचालन पाल्पाली समाज पोखराका प्रथम उपाध्यक्ष केशव नेपालले गरेका थिए ।
दर्शकलाई पाल्पाको भैरवस्थान मन्दिरको रोट, टीका, प्रसादसहित पाल्पाली परम्परागत परिकार बटुक र चुकाउनीले स्वागत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय