पाल्पा, २६ साउन
पाल्पा सदरमुकाम तानसेनका सडक—सडकमा रोपाईं गरि परम्परागत रोपाईं जात्रा निकालिएको छ । तानसेनमा यस बर्ष तानसेन—७ काजिपौवा बेशी, तानसेन—५ धरमपानी र देवबाणी साधारण तथा संस्कृत माबिले रोपाईं जात्रा निकाले । जात्रामा हलि, रोपार, बाउसे, खेताला, ठेगारेहरु गीत गाँउदै किसानको भेषमा तानसेन बजारका चोक र गल्ली गल्ली पुगेका थिए । रोपाईं जात्रामा सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधीहरु समेतको सहभागीता रहेको थियो ।
बिगतका बर्षमा भन्दा यस बर्ष तानसेनमा रोपाईं जात्रा धेरै देखिएको तानसेनका स्थानीय नरेशचन्द्र भट्टराईले बताउनुभयो । लोप हुनै लागेको रोपाईं जात्राले तानसेनमा यस बर्ष चहलपहल ल्याएको देख्न पाईयो । भट्टराईले भन्नुभयो ।
विशेष गरी पाल्पाका प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न सरकारी तथा निजी कार्यालयका कर्मचारी, राजनीतिक दलका प्रमुखहरुलाई देखाउनको निम्ति गाउँदेखि रोपाई जात्रा तानसेन बजारमा ल्याउने गरिन्छ । तर पछिल्लो समय खर्च बढी लाग्ने र आम्दानी कम हुने भएकाले रोपाईं जात्रा कम निस्कने गरेको बेशी टोल बिकास संस्था तानसेन ७ का पूर्णबहादुर रानाले बताउनुभयो । यो जात्रा निकाल्न कम्तिमा पनि २ लाख ५० हजार खर्च छ । उहाँले भन्नुभयो ।




जात्रा प्रदर्शनको लागि जिसस,नगरपालिका,उद्योग वाणिज्य संघ तथा ब्यापारीहरुले दिएको सहयोगले खर्चको व्यवस्था मिलाउने आयोजकहरुको भनाई छ । पाल्पाको रोपाईं जात्राको ईतिहास ७५र ८० बर्ष पुरानो छ । जात्रा हेर्नको लागि पाल्पासहित स्याङ्जा, गुल्मी, पर्वत, रुपन्देही लगायतका जिल्लाहरुबाट दर्शकहरु आउने गर्दछन् ।








