पाल्पा,१० साउन
नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादबले खानेपानी प्रयोग गरेबापत उपभोक्ताबाट शुल्क उठाउने परिपाटी अन्त्य गर्ने बताउनुभएको छ ।
आज पाल्पाको तानसेनमा तानसेन खानेपानी उपभोक्ता समितिको १० औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री यादबले कुनै पनि उपभोक्ताले सरकारले निर्माण गरेको योजनाबाट खानेपानी प्रयोग गरे बापत शुल्क तिर्नुपर्ने अबस्था अन्त्य गर्ने बताउनुभयो ।
“अन्य बिकासका काममा जनतासंग कुनै शुल्क नलिने तर खानेपानीको प्रयोग गर्दा शुल्क लिने प्रचलन छ । त्यो प्रचलनलाई शुन्य बनाउनुपर्छ । त्यसका लागि केन्द्रिय सरकारले ७० प्रतिशत प्रदेश र स्थानीय सरकारले १५/१५ प्रतिशत लगानी गरेर सह लगानीमा योजना बनाइ त्यसको लागि काम समेत सुरु भइ सकेको छ ।” मन्त्री यादबले भन्नुभयो ।
मन्त्री यादबले तानसेनमा दैनिक ३० लाख लिटर खानेपानी पानीको आबश्यकता रहेको भएपनी जनसंख्या वृद्धि संगै दीर्घकालिन सोच लिएर ५० लाख लिटरको पानी टंकी निर्माणका लागि सरकारले ३५ करोड बजेट ब्यबस्थापन गरिदिने प्रतिबद्धता जनाउनुभयो । यसले १ सय बर्षसम्म तानसेनको माग धान्ने छ ।
खानेपानीको व्यापक समस्या रहेको तानसेनमा कालीगण्डकी खानेपानी परियोजना सम्पन्न भएपछि खानेपानीको समस्या हटेको छ ।













