latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

भू–क्षय नियन्त्रण गर्न तानसेनमा ‘बायो इञ्जिनियरिङ प्रविधि’ प्रयाेग गरिएकाे छ । सिद्दार्थ राजमार्गकाे लामिडाँडा सडकमा बायो इञ्जिनियरिङ प्रविधि प्रयोग गरी पहिरो रोकथाम र भू–क्षय नियन्त्रण गर्न थालिएको हो ।

तानसेन नगरपालिका–६ वडा कार्यालयको स्रोतसाधन व्यवस्थापन, भू तथा जलाधार संरक्षण कार्यालयको प्राविधिक सहयोग, सडक डिभिजन कार्यालयको आर्थिक सहयोगमा पहिरो जोखिम क्षेत्रमा बायो इञ्जिनियरिङ प्रविधि प्रयोग गरिएको तानसेन–६ का वडाध्यक्ष सागरमान महर्जनले जानकारी दिए । उनका अनुसार यो प्रविधिमार्फत ढुङ्गा, माटो, घाँसलगायत वस्तुको प्रयोग गरी पहिरो खस्ने क्षेत्रमा रोकथाम र जोखिम व्यवस्थापनको कार्य गरिन्छ । “यहाँ पहिरोका कारण दुई घर र विद्यालय जोखिममा रहेका थिए । पहिरोबाट घर र विद्यालय जोगाउन बायो इञ्जिनियरिङअन्तर्गत बाँस, अम्रिसो, घाँस रोपिएको हो”, उनले भने । पहिरोका कारण घर र विद्यालय जोखिममा परेपछि क्षति न्यूनीकरण गर्ने उद्देश्यले यो प्रविधि प्रयोग गरिएको बताउँदै वडाध्यक्ष महर्जनले अहिलेसम्म दुई पटक भारी वर्षा भए पनि माटो जमेर बसेकाले पहिरो तथा भू–क्षय रोकथाम भएको विश्वास लिइएको उल्लेख गरे । तत्काल ३५ मिटर लम्बाइमा बाँसको वाल उठाएर पहिरो तथा भू–क्षय रोकथाम नियन्त्रणको प्रयास गरिएको निर्माण कम्पनी सिल्ट कष्ट्रक्सन  तिनाउका प्रोपाइटर प्रकाश श्रेष्ठले जानकारी दिए । उनले भने, “पाँच/छ मिटर गहिराइमा बाँस गाडिएको छ, यसले माटो बग्नलाई रोक्छ ।” श्रेष्ठका अनुसार बायो इन्जिनियरिङले भू–क्षय, पहिरो जानबाट रोक्नुका साथै हरियाली बनाउने भएकाले यो प्रभावकारी उपाय हुनसक्ने धारणा राखे । उनले यो प्रविधिमार्फत निर्माण गरिएका संरचना र आसपासका क्षेत्रमा पानीले माटो बगाएर नोक्सान हुनबाट जोखिने बताए ।

“हिउँदमा हावाले माटो उडाउने समस्या पनि यसले रोक्ने छ । माटोको करिब पाँच इन्च माथिको भागमा रुख बिरुवाका जराले समाएर बलियो बनाउनका लागि बायो इन्जिनियरिङ प्रविधि प्रयोग गरिन्छ । हेर्दा सामान्य देखिए पनि माटो काट्ने समस्या अन्त्य गर्न नयाँ संरचना निर्माण गर्ने क्षेत्रमा यो प्रविधि महत्वपूर्ण र प्रभावकारी हुनेछ”, उनले भने । यो प्रविधि पहाडी क्षेत्रमा प्रभावकारी भएको श्रेष्ठको भनाइ छ । पछिल्लो समय पहाडका कतिपय ठाउँहरूमा यो प्रविधि प्रयोग गरी पहिरो र भू–क्षय रोक्ने प्रयास थालिएको बताउँदै उनले यो सरल, तुलनात्मक रूपमा कम खर्चिलो र प्रभावकारी देखिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय