latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्ने लक्ष्यका साथ तिनाउ गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँ सभाको १७ औं अधिवेशनको पहिलो बैठकमा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।

‘कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनः समृद्ध तिनाउको मूल आधार’ भन्ने नाराका साथ गाउँपालिकाले समावेशी, आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्ने लक्ष्यका साथ नीति तथा कार्यक्रम तयार गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । बैठकमा अध्यक्ष श्रेष्ठले चालु आर्थिक वर्षको प्रगति समीक्षा गर्दै गाउँपालिकाले हालसम्म सडक स्तरोन्नति, खानेपानी, सिँचाइ, खेलमैदान, पोखरी निर्माणजस्ता ५० भन्दा बढी भौतिक पूर्वाधार विकासका योजनाको सफल कार्यान्वयन गरेको जानकारी गराउनुभयो ।

अध्यक्ष श्रेष्ठले सार्वजनिक गर्नु भएको नीति तथा कार्यक्रममा अगामी वर्षका लागि कृषि तथा पशुपालनमा व्यावसायिकता ल्याउन ५० प्रतिशत अनुदानमा आधुनिक उपकरण वितरण, एक वडा एक पकेट क्षेत्र विकास, गाई–भैंसी तथा बाख्रा पालन, मौरी पालन, गड्यौली मल उत्पादन, तरकारी तथा फलफूल खेतीलाई प्रवद्र्धन कार्यक्रम गरिने उल्लेख छ । यस्तैगरी जन्तीलुङ्ग र मरामकोटमा होमस्टे प्रवद्र्धन, मगर संग्रहालयको व्यवस्थापन, एक वडा एक महोत्सव, पर्यटन नक्सा निर्माणजस्ता कार्यक्रम अघि बढाइने कार्यक्रम समावेस रहेको छ ।

शिक्षा क्षेत्रमा विद्यालय स्तरोन्नति, आवासीय छात्रावास, एसईई तयारीका लागि खाजा कार्यक्रम, नमुना विद्यालय घोषणा, बालमैत्री शिक्षा र स्कुल बसको व्यवस्था गरिन नीति तथा कार्यक्रममा भनिएको छ । स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचको लागि पोषण, बालस्वास्थ्य, मातृस्वास्थ्य, खोप कार्यक्रम, हरेक टोलमा स्वास्थ्य परीक्षण तथा आयुर्वेद सेवाको विस्तार गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ । उहाँले खानेपानी तथा सरसफाइका क्षेत्रमा ’एक घर एक धारा’ कार्यक्रम, लिफ्टिङ्ग खानेपानी योजनाको सञ्चालन, सरसफाई तथा शौचालय निर्माण अभियानलाई निरन्तरता दिइने कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

प्रस्तुत गरिएको नीति तथा कार्यक्रम सभाका सदस्यहरुले आवश्यक अध्ययन गरी आगामी असार १० गते मंगलबार बस्ने दोस्रो बैठकमा छलफलसहित पास गर्ने गरी बैठक स्थगित भएको सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय