
पाल्पा
नेपाल स्काउटको ७४ औँ स्थापना दिवस रामपुरमा मनाएको छ । नेपाल स्काउट स्थानीय स्काउट कार्यालय रामपुर पाल्पाले बिहिवार प्रभातफेरी कार्यक्रम र वकतृत्वकला प्रतियोगिता सहित स्काउट स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा विभिन्न प्ले कार्ड सहित रामपुर नगरपालिका वडा नं.५ को वेझाँड बजार परिक्रमा गरेको छ भने नेतृत्व विकासमा स्काउटको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।



रामपुर नगरपालिकामा भएको स्थापना दिवस कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विद्यार्थीहरुको अनुशासन र नेतृत्व क्षमता विकास संगै सामाजिक भावनाको विकासका लागि स्काउटको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । स्काउटको माध्यमबाट विद्यार्थीहरुलाई नैतिकवान, चरित्रवान र व्यवहारिक बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो- अनुशासनको विकास,चरित्रवान ,नैतिकवान र सफल समाज निर्माण गरि समुन्नत रामपुर निर्माणका लागि स्काउट आवश्यक छ । उहाँले विपद्को समय वा अन्य हरेक समयमा मानिसलाई सहयोग गर्ने अर्धसैनिक संस्था स्काउट भएको भन्दै सकारात्मक सोँच र उच्च आत्मबलका साथ नगरबासीलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो । स्काउटले नैतिक संगै व्यवहारिक ज्ञान प्रदान गर्ने भन्दै यसको माध्यमबाट समृद्ध रामपुर निर्माणका लागि सकारात्मक सोँचका साथ लाग्नु पर्नेमा जोड दिनुभयो । यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले विद्यार्थीहरुको व्यक्तित्व संगै नेतृत्व क्षमता विकासका लागि सबै विद्यालयमा स्काउट सञ्चालन गर्नु पर्ने बताउनुभयो ।उहाँले नगरपालिका भित्रका सबै विद्यालयमा स्काउट सञ्चालन र व्यवस्थापनका लागि थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपनाथ गौतमले सकारात्मक उर्जा दिने संस्था भएको भन्दै सबै विद्यालयलाई समेटेर स्काउट सम्बन्धी कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यकता औँल्याउनुभयो । जनविकास माध्यमिक विद्यालयका शिक्षक कृष्णकला भण्डारीले अवस्था अनुसार व्यवस्था गर्ने संस्था स्काउट भएको भन्दै यसले विद्यार्थीहरुको व्यवहारमा परिवर्तन गरेको बताउनुभयो ।
स्थापना दिवसको अवसरमा भएको नेतृत्व विकासमा स्काउटको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा स्काउट सञ्चालन भएका विद्यालयका ११ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा रामपुर अंग्रेजी आवासीय माध्यमिक विद्यालयका शारदा श्रेष्ठ, द्धितिय जनविकास माध्यमिक विद्यालयका स्विकार पोखरेल र तृतीय गंगा माध्यमिक विद्यालयका सुरक्षा ढुंगाना भएको छ । प्रतियोगितामा विजयी र सहभागि विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । साथै कार्यक्रमको अवसरमा स्काउट सञ्चालन भएका विद्यालयले विभिन्न प्रजातिका फूल सहितको गमला हस्तान्तरण गरेको छ । स्थानीय स्काउट समिति रामपुर पाल्पाका अध्यक्ष सागर श्रेष्ठको अध्यक्षतामा भएको नेपाल स्काउट स्थापना दिवस कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरले गर्नु भएको थियो ।
नेपाल स्काउट स्थापना दिवसको अवसरमा स्काउट सञ्चालित विद्यालयका विद्यार्थीहरुले स्काउट विश्वास योग्य हुन्छ,स्काउट मितव्ययी हुन्छ, स्काउट बहादुर र संधै प्रसन्न रहन्छ,स्काउट मन बचन र कर्ममा पवित्र हुन्छ लगाएत लेखिएको प्ले कार्ड सहितको प्रभातफेरी नहर अफिस देखि वेझाँड बजार परिक्रमा गरिएको थियो ।