
पाल्पा, पाल्पा अस्पताल विकास समिति अध्यक्षमा अजयमान कर्माचार्यले पदभार ग्रहण गर्दै पाल्पा अस्पतालको समग्र विकासका लागि आफूले सबैसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
पदभार ग्रहणमा उहाँले विकास समितिको एक्लो प्रयासले मात्रै अस्पतालको विकास नहुने भएकोले यसमा सबैले आ-आफ्नो सल्लाह–सुझाव, सहकार्य र सहभागिता जनाई सहयोग गर्न र प्राप्त सुझाव अनुसार आफू अगाडि बढ्ने बताउँनुभयाे । अध्यक्ष कर्माचार्यले आफ्नो एउटा मात्रै दृष्टिकोण अस्पतालको भवन निर्माण गर्ने रहेको उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे पाल्पा “अस्पतालको भवन अहिलेको मुख्य आवश्कता हो, त्यसलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताउँनुभयाे । यस अघिको समितिलेबाट भवन निर्माणको कामको प्रयास गरे पनि जग्गा प्राप्तिमा केही कानुनी अड्चनका कारण त्यो अगाडि बढ्न सकेन,अब यो जनताको अस्पताल भएकाले पनि जसरी भए पनि जग्गाको व्यवस्थापन गरी भवन निर्माण गरेरै छाड्ने छु ।” अघिल्लो नेतृत्वले गर्न बाँकी रहेका कामहरुलाई स्टिकली गर्ने समेत पदभार ग्रहण कार्यक्रममा उहाँले प्रतिवद्धता जनाउँनुभयाे । नवनियुक्त अध्यक्ष कर्माचार्यले इमान्दारिताका साथ काम गर्ने कर्मचारीहरूलाई कुनै समस्या नहुने समेत बताउँनुभयाे ।



पदभार ग्रहण कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पा प्रमुख टंकनाथ खनालले दलीय व्यवस्थामा संघ-संस्थाहरूमा नेतृत्वकाे परिवर्तन हुनु कुनै नौलो काम नभए पनि नेतृत्व चीरस्थायी नहुँदा काममा ठूलो समस्या भोग्नु पर्ने दुखद् कुरा भएको बताउँनुभयाे। उहाँले कोही जाने र आउने कुरा याे स्वाभाविक प्रक्रिया भएको भन्दै आउने हर्षित हुनुपर्ने र जाने दुखी हुन नपर्ने बताउँनुभयाे । कार्यक्रममा जिसस प्रमुख खनालले कामका आधारमा नेतृत्व स्थापित हुनुपर्नेमा जोड दिनुभयाे। त्यस्तै तानसेन नगरपालिका उप-प्रमुख प्रतिक्षा गाहा सिंजालीले छोटो समयमा अस्पतालको नेतृत्व फेरबदल गर्ने कामले अस्पतालकाे विकासमा फाइदा नहुने भएकोले यसको अन्त्य हुनुपर्ने भन्दै उहाँले माथिबाट जुन प्रचलन छ त्यसले पाल्पामा मात्र नभई देशैभरका अस्पतालमा असर पुर्याएको बताउँनुभयाे । उप-नगर प्रमुख सिंजालीले पाल्पा अस्पतालको विकासमा नगर सरकारले आवश्यक पर्ने सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले अस्पतालमा थुप्रै समस्याहरू भएकाले त्यसको समाधानका लागि पाल्पा अस्पताल विकास समितिलाई सबैको सहयोग जरुरी रहेको बताउँनुभयाे । उहाँले कानुनी अड्चनका कारणले जग्गा प्राप्तिमा समस्या देखिएता पनि यसको समाधान गरेर भवन निर्माणको कार्य अगाडि बढ्नु पर्ने बताउँनुभयाे।अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष गुराँस आत्रेयले आफुले जति समय जिम्मेवारी पाए त्यति समयसम्म पाल्पा अस्पतालको विकासमा सक्रिय भएर लागेको बताउँनुभयाे । उहाँले आफूले अस्पतालको गुणस्तरियतामा धेरै सुधार गरेको उल्लेख गर्दै कार्यकाल नसकिदै जिम्मेवारीबाट बाहिरिनु परे पनि अस्पतालको विकासमा आफ्नो सहयोग सदैव रहने उल्लेख गर्नुभयो ।
पदभार ग्रहण कार्यक्रममा पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.राजेन्द्र पौडेलले अप्रेसन थे्रटर अस्पतालका लागि अति आवश्यक रहेकाले पनि नयाँ समितिले ध्यान दिनुपर्ने बताउँनुभयाे । प्रदेश मन्त्रालयले विकास समितिको सदस्यमा शशी श्रेष्ठलाई मनोनीत गरेको छ । कार्यक्रम अध्यक्ष अजयमान कर्माचार्यको अध्यक्षता,नर्सिङ्ग अधिकृत लक्ष्मी जिसी कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।