
तिनाउ गाउँपालिकाले कृषि तथा पशुपालनको कार्यमा प्रविधिउन्मुख भएको छ । यतिमात्रै हैन तिनाउँले कृषिमा पूर्ण यान्त्रिकरणमा जोड दिएको छ ।
तिनाउले चालू आर्थिक वर्षमा १ सय ३४ वटा हाते ट्याक्टर बितरण गर्ने तयारी गरेको छ । यी ट्याक्टरहरू खरिद प्रक्रियाबाट खरिद गरिसकिएको र वडा तथा टोलबाट माग संकलन गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । यी सबै ट्याक्टरहरू नेपाल सरकारको मान्यताप्राप्त र मेकानिकल इन्जिनियरहरुबाट प्रमाणित रहेको उहाँले बताउनुभयो । यी ट्याक्टर ७ एचपि क्षमताका रहेका छन् । त्यस्तै यसवर्ष कृषि कार्यक्रम अन्तरगत नै १५ वटा कुटानी पिसानी मिल समेत बितरण हु“दैछ । गाउँपालिकाले गोरू बिस्थापन गरी कृषिमा आधुनिकीकरण गर्ने कार्यक्रम अगाडि सारेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।



कृषिमा यान्त्रिकरण कार्यक्रम अन्तरगत अघिल्ला वर्षहरुमा पनि तिनाउमा हाते ट्याक्टर र कुटानी पिसानी मिल बितरण हुदै आएको छ । “तिनाउका ८० प्रतिशत नागरिक कृषिमा आधारित छन् । यसरी यान्त्रिकरणको उपयोग बढ्दै गएपछि किसानलाई पनि धेरै सहज भएको छ ।” उहाँले भन्नुभयो । बर्षभरी गोरू पाल्ने झण्झट कम भएको उहाँको भनाई छ । मागको आधारमा मुल्याङ्कन गरी छनौटमा परेका किसानले ५० प्रतिशत अनुदानमा यी कृषि यान्त्रिकरणहरू पाउनेछन् । अहिले वडा वडामा किसानहरुबाट यान्त्रिकरणको माग गर्ने क्रम रहेको र गाउँपालिकाले निर्णय गरी उनीहरुलाई यी सामाग्रीहरू बितरण गरिने उहाँले बताउनुभयो ।
कृषि शाखा प्रमुख हेमन्तकुमार शर्माले यसरी यान्त्रिकरणको उपयोग बढ्न थालेपछि किसानलाई धेरै सहज भएको र उनीहरुले छोटो समयमा धेरै काम गर्न सफल भएको बताउनुभयो । उहाले यी मेसिनरीहरुको मर्मतका लागि गाउँपालिकाले बेला बेलामा यान्त्रिकरण मर्मतसुधार तालिम समेत संचालन गर्दै आएको बताउनुभयो ।