पाल्पा, रामपुर नगरपालिकाले महिला दिदिबहिनीहरुलाई पोते माला तथा चुरा बनाउने तालिम सहित उद्यमशिलता विकास तालिम प्रदान गरेको छ । नगरपालिकाले पोते माला तथा चुरा बनाउने तालिममा सहभागि हुने महिला दिदिबहिनीहरुलाई उद्यमशिलता विकास तालिम प्रदान गरेको हो ।उपप्रमुख ग्रामिण महिला उत्थान कार्यक्रम अन्तर्गत १३ दिने पोते माला तथा चुरा बनाउने तालिममा सहभागि महिलाहरुलाई व्यवसाय सञ्चालन तथा प्रवर्द्धन सिप प्रदान गरिएको छ ।

  बुधबार तालिमको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले स्थानीय उत्पादनको अभिवृद्धि गरि रामपुरलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न उत्पादनमूलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले दैनिक जिवनमा आवश्यक पर्ने बस्तुको उत्पादन गरी नगरलाई आत्मनिर्भर बनाई आर्थिक समृद्धिका लागि विभिन्न सिपका आयमूलक तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।सिपमूलक तालिमले महिलाहरुलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउने भन्दै यस्ता तालिमले महिलाहरुको जीवनस्तर उकासेको बताउनुभयो ।विभिन्न समयमा सञ्चालन गरेका तालिमबाट सिप सिकेका महिलाहरुले उत्पादन गरेका सामग्री नगरपालिकाले खरिद गरेर बजारको समेत प्रवर्द्धन गर्दै आएको बताउनुभयो । उपप्रमुख थापाले उद्यम विकास सम्बन्धी तालिमले उद्यमी बन्ने सोँचमा रहेका महिला दिदिबहिनीहरुलाई सफल व्यवसायी बनाउन मद्दत पुग्ने बताउनुभयो ।

   कार्यक्रममा रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाशा पोखरेलले आर्थिक समृद्धि र जिविकोपार्जनका लागि सिपमूलक तालिम महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।उहाँले सिपले अर्थोपार्जनका गर्ने भन्दै ज्ञानसिपको सही प्रयोग गर्न आग्रह समेत गर्नुभयो । यस्तै रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले गुणस्तरीय र बाह्य वस्तु संग प्रतिस्पर्धा गर्न सक्ने सामग्री उत्पादन गर्नु पर्ने आवश्यकता औँल्याउनुभयो ।प्रतिस्प्रर्धा गर्न सक्ने गुणस्तरीय उत्पान गर्न सके मात्र व्यवसायीक सफलता हासिल गर्न सक्ने बताउनुभयो ।कार्यक्रममा रामपुर नगरपालिका वडा नं. २ का अध्यक्ष कृष्ण बहादुर दर्जीले ज्ञानसिपको प्रयोग गरी व्यवसायी बन्न आग्रह गर्नुभयो । यस्तै रामपुर नगरपालिकाका कार्यपालिका सदस्य मायादेवि नेपालीले तालिमलाई तालिममा मात्र सिमित गर्न नहुने भन्दै जिवन उपयोगी बनाउनु पर्नेमा जोड दिनुभयो ।

तालिममा सिप सिकेर उद्यमी बन्न चहाने महिला दिदिबहिनीहरुलाई सिर्जनात्मक र परम्परागत व्यवसाय शैलीलाई व्यवसायीक बनाउन साथै व्यवसायीक योजना बनाउन सिकाईने उद्यम विकास सहजकर्ता रुपेश सिंजापतिले बताउनुभयो ।रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम वडा नं.२ का अध्यक्ष कृष्ण बहादुर दर्जीको स्वागत र महिला बालबालिका शाखा प्रमुख पुजा परियारले गर्नु भएको थियो ।

   नगरपालिकाको सभाहलमा भएको तालिममा नगरपालिका भित्रका ३८ जना महिला दिदिबहिनीहरुको सहभागिता रहेको छ । सहभागिहरुलाई ४ दिन उद्यम विकास सम्बन्धी तालिम र त्यस पश्चात १३ दिन सम्म पोते माला तथा चुरा बनाउने तालिम प्रदान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय