
पाल्पा, व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना कार्यक्रम रामपुर नं.९ पाल्पामा सम्पन्न भएको छ । नेपाल सरकारको सप्ताहव्यापी कार्यक्रम व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकाको आयोजनामा वडा नं.९ मा बुधवार सचेतना कार्यक्रम समपन्न भएको हो ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले राज्यको नीति तथा विभिन्न कार्यक्रम तय गर्नका लागि व्यक्तिगत घटना दर्ता महत्वपूर्ण रहेको बताउनुभयो ।व्यक्तिलाई राज्यले दिने सेवा सुविधा र नागरिकका लागि तय गर्ने विभिन्न कार्यक्रम निर्माण गर्न सहज हुने बताउनुभयो ।व्यक्तिगत घटना दर्ता अनिवार्य गर्नु पर्ने भन्दै उहाँले कानुनी प्रावधान अनुसार समयमै गर्न आवश्यक रहेको औँल्याउनुभयो ।उहाँले सानो लापरवाही र अभिभावकको वेवास्ताले बालबालिकाको भविष्यमा समेत असर पुग्न सक्ने भएकाले घटना दर्ता गर्दा सचेत हुनु पर्ने बताउनुभयो । वडा नं.९ को कार्यालय भवन जब्गादीमा भएको कार्यक्रममा बोल्दै वडा नं.९ का अध्यक्ष डिल बहादुर रानाले व्यक्तिगत घटना दर्ता समयमै गर्नु पर्ने भन्दै यसले वडाले सञ्चालन गर्ने वार्षिक कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो । साथै व्यक्तिगत घटना दर्ता सप्ताहले घटना दर्ताका लागि सहज रुपमा कार्यान्वयन गर्न सजिलो हुने बताउनुभयो । यस्तै रामपुर नगरपालिका वडा नं.३ का सचिव मदन पराजुलीले घटना दर्ता गर्दा विभिन्न त्रुटि हुने भन्दै संमयमित भएर समयमै घटना दर्ता गराउनु पर्ने बताउनुभयो । यस्तै जनशान्ती माध्यमिक विद्यालय रामपुर ९ पाल्पाका प्राधानाध्यापक ढक बहादुर सिंजाली अविभावकविहिन बालबालिकाको जन्मदर्ता नहुँदा विद्यालयमा भर्ना गर्न समेत असहज भएको भन्दै यस्ता समस्या समाधान गर्न आवश्यक रहेको बताउनुभयो ।



कार्यक्रममा रामपुर नगरपालिका पञ्जिकरण शाखाका प्रमुख प्रतिमा घिमिरेले विभिन्न व्यक्तिगत घटना दर्ता गर्न छुटेमा राज्यले प्रदान गर्ने विभिन्न सेवा सुविधाबाट वञ्चित हुने भएकाले जन्मदर्ता,विवहा दर्ता,सम्बन्ध विच्छेद, बसाई सराई र मृत्यु दर्ता ३५ दिन भित्रै गर्नु पर्ने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षतामा भएको कार्यक्रम पञ्जिकरण शाखाका प्रमुख प्रतिमा घिमरेको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा वडा नं.९ का विभिन्न टोल विकास संस्था,विद्यालयका शिक्षक,स्वयमसेविका लगायतको सहभागिता रहेको थियो । नेपाल सरकारले हरेक वर्ष बैशाख १ गते देखि ७ गते सम्म व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम गर्दै आएको छ ।