
पाल्पा, नेपाल सरकारका कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति कुसुम देवि थापाले कृषि र सहकारी क्षेत्रको समस्या समाधान गरि कृषक र साना बचतकर्ताको हित हुने ऐन तथा नीति ल्याउने बताउनु भएको छ ।
रामपुर नगरपालिकाले गरेको स्वागत सम्मान सहित अन्तक्रिया कार्यक्रममा बोल्दै उहाँले जब सम्म कृषक र साना बचतकर्ताको समृद्धि हुँदैन तब सम्म देशको समृद्धि सम्भव नभएको बताउनुभयो । थापाले सहकारी संस्थाहरु सहकारीको मर्म अनुसार चल्न नसकेको भन्दै सहकारीहरुमा व्याप्त समस्याको समाधान गर्ने नीति छिट्टै ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले समग्र कृषकको हितका लागि नयाँ कृषि नीति र ऐन ल्याउने तयारी भई रहेको बताउनुभयो । कृषि क्षेत्रका लागि आफू चिन्तित रहेको भन्दै खाद्यान्नमा आत्मनिर्भर बनाई निर्यात गर्न सक्ने नीति ल्याउन सके मात्र कृषकको हित हुने बताउनुभयो । उहाँले कृषकहरुलाई परम्परागत कृषि खेति भन्दा बैकल्पिक र व्यवसायीक खेतिलाई बढावा दिन आग्रह समेत गर्नुभयो ।सभापति थापाले आवासक्षेत्र निर्माण गर्दा यसको कृषि उर्वर भूमिलाई मास्न नहुने बताउनुभयो । उहाँले उर्वर भूमि रामपुरलाई सिंचाई र कृषिको माध्यमबाट अझ हराभरा बनाउनु पर्नेमा जोड दिनुभयो ।



कार्यक्रममा रामपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले कृषकको हितका लागि नगरपालिका प्रतबद्ध भएर लागेको बताउँदै स्थानीय सरकारको सिमित स्रोत र साधनले प्रदान गरेको अनुदान कृषकका लागि पर्याप्त नभएको उल्लेख गर्नुभयो । उहाँले नेपाल सरकारले तोकेर पठाएका ससर्त अनुदानका कार्यक्रमलाई परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो । उपप्रमुख थापाले स्थानीय कृषकको समस्या र आवश्यकतालाई मध्यनजर गरेर कृषि सम्बन्धी कार्यक्रम सञ्चालन गर्न सके मात्र प्रभावकारी हुने बताउनु भएको छ ।उहाँले संघीय सरकारले प्रदान अनुदान लगायत विभिन्न कार्यक्रमका बजेट स्थानीय तहमा स्वायत्त रुपमा सञ्चालन गर्ने नीति बनाउन सुझाउनुभयो । ।साथै थापाले रामपुरमा कृषकले उत्पादन गरेका कृषि उपज संकलन गर्नका लागि कृषि उपज संकलन केन्द्र आवश्यक रहेकाले यसका लागि पहल गर्न समेत आग्रह गर्नुभयो ।
यस्तै रामपुर नगरपालिका वडा नं।४ का वडाअध्यक्ष राम बहादुर रानाले समग्र कृषि र सहकारी क्षेत्रको विकासका लागि उचित नीति ल्याउन आवश्यक रहेको बताउनुभयो । अन्तक्रिया कार्यक्रममा रामपुर नगरपालिकाका नगर सल्लहाकार देवराज ढकालले रामपुर फाँटको सिँचाईको एक मात्र स्रोत रामपुर फाँट सिँचाईको नहर जीर्ण रहेको भन्दै यसको पुननिर्माण र संरचनागत सुधारका लागि पहल गर्न आग्रह गर्नुभयो ।यस्तै नगर सल्लहाकार सन्दिप रानाले कालीगण्डकी डाइभर्सनले कालीगण्डकी वेशीका भू(भागको उर्वर भूमिलाई असर पार्ने र डाइभर्सन यस क्षेत्रको हित विपरित रहेको यसको विकल्प खोज्न पहल गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा नगरपालिका भित्रका अगुवा कृषकहरुले अनुदानका कार्यक्रम,बजारीकरण,प्रविधि सम्बन्धी समस्याका विषयमा गुनासो राखेका थिए ।
रामपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम नेपाल सरकारका कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम देवि थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।रामपुर नगरपालिका वडा नं।४ का अध्यक्ष राम बहादुर रानाको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन कृषि शाखा प्रमुख नारायण प्रसाल गैरेको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा उपप्रमुख थापाले कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम देवि थापालाई दोसल्ला र मायाको चिनोले स्वागत सहित सम्मान गर्नु भएको थियो ।