
पाल्पाको तानसेन नगरपालिका वडा नं. ४ मा छैठौं सडक खाना महोत्सव भएको छ । तानसेन नगरपालिका वडा नं. ४ को आर्थिक सहयोग तथा मंखन टोल विकास संस्थाको समन्वयमा भएको उक्त महोत्सवको उद्घाटन तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले गर्नुभएकाे हाे । कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख श्रेष्ठले तानसेनका नौ स्थानलाई महिला मैत्री शहरका रूपमा विकास गर्ने अवधारणाअनुरूप मंखन टोलमा महोत्सव आयोजना गरिएको बताउनुभयो । नगरपालिकाले युनाेप्ससँग सहकार्य गरेर महिला मैत्री शहर बनाउने कार्य अगाडि बढाइरहेको उल्लेख गर्दै हरेक शुक्रबार महिला उद्यमीहरूबाट उत्पादित कृषि उपज तथा अन्य सामग्रीहरूको बजारीकरण गर्ने कार्य थालनी तेस्रो सडकबाट गरिएको बताउनुभयाे ।
तानसेन नगरपालिकाले कला, संस्कृति, भेषभूषा तथा साहित्य संरक्षण गर्न ‘तानसेन नगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको बताउँदै नगर प्रमुख श्रेष्ठले यस प्रतिष्ठानमार्फत स्थानीय कला, संस्कृति र साहित्यको प्रवर्द्धन गर्न थालिएको बताउनुभयो । उहाले कृषि र पर्यटन प्रवर्द्धन गरेर तानसेनको समृद्धि सम्भव रहेको बताउनुभयो । नगरपालिकाले स्थानीय उत्पादनलाई बजारीकरण गर्दै कृषि क्षेत्रलाई प्रवर्द्धन गरिरहेको बताउनुभयो । हरेक शुक्रबार सञ्चालन हुने विशेष बजारले स्थानीय किसान र उद्यमीलाई आर्थिक रूपमा सबल बनाउने बताउनुभयो । तानसेनको ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरिने याेजना नगर सरकारले अगाडि बढाएको बताउनुभयो । नगरपालिकाले स्थानीय भेषभूषा, परम्परागत खाना र संस्कृति पर्यटनको महत्वपूर्ण आधार भएको महसुस गरेकाे बताउदै तेस्रो सडक क्षेत्रमा व्यवसाय प्रवर्द्धन गरी आर्थिक गतिविधि बढाउने लक्ष्यका युनाेप्ससँगकाे सहकार्यमा शुक्रबार कार्यक्रम गरिरहेकाे बताउनुभयो । यस्ता महोत्सव तथा कार्यक्रमहरूले तानसेनमा पर्यटककाे आगममा वृद्धि हुनुकाे साथ बसाइँसराइ रोक्नसमेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।



महोत्सवमा विशिष्ट अतिथि तानसेन नगरपालिकाकी उप-प्रमुख प्रतिक्षा सिङ्जालीले मंखन टोल विकास सस्थाले सडक महाेत्सवकाे माध्यमबाट लोपोन्मुख अवस्थामा रहेका भाषा, कला, संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्नु आफैमा महत्वपूर्ण कार्यक्रम रहेको बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादब सिङ कार्कीले मंखन टोल विकास संस्थाले आयोजना गरेको महोत्सव प्रशंसनीय रहेको बताउनुभयो । उहाँले नगरपालिकाले हरेक हप्ताको शुक्रबार गरिएको सडक महाेत्सवले ग्रामीण क्षेत्रका कृषिजन्य उत्पादनको बजारीकरणका साथै पर्यटनको प्रवर्द्धनमा समेत टेवा पुग्ने बताउनुभयो । नगरपालिकाले तेस्रो सडक क्षेत्रमा ५७ वटा घरटहरा हटाएर हाल व्यापारिक केन्द्रको रूपमा विकास गर्न लागिएको बताउनुभयो ।
तानसेन नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले तानसेनकै सम्भाव्य पर्यटकीय क्षेत्रहरूमध्ये एक मानिने मंखन टोललाई व्यवस्थित रूपमा विकास गर्न यो महोत्सव उपयोगी हुने बताउनुभयो । जातजाति, भाषाभाषीहरूको संस्कृतिलाई जगेर्ना गर्न यस्ता कार्यक्रमको वडाले आवश्यकता महसुुस गरेकोले टाेल विकास सस्थासँग सहकार्य गरि सडक खाना महाेत्सव गरिएको बताउनुभयो ।
महोत्सवमा पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्कीले स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सफल भएको बताउनुभयो । उहाँले तानसेन नगरपालिका क्षेत्रमा १०० भन्दा बढी टाेल विकास संस्थाहरू रहेता पनि मंखनटाेल विकास सस्थाले उत्कृष्ट कार्य गरिरहेकाे बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य विष्णु खनालले पाल्पाकाे कला, संस्कृति, भाषा तथा परम्परागत खानाका परिकारहरूकाे प्रचार प्रसार एवम पुस्ता हस्तान्तरण गर्न कार्यक्रमले थप टेवा पुर्याउने बताउनुभयो । सडक खाना महाेत्सवकाे माध्यमबाट नेवारी र मगर समुदायका परम्परागत खानाहरूको प्रवर्द्धन गर्नु सकारात्मक पक्ष रहेको उल्लेख गर्दै उहाँले मगर तथा नेवारी नृत्य प्रदर्शनले महोत्सवलाई थप आकर्षक बनाएको बताउनुभयो ।
कार्यक्रममा मंखन टोल विकास संस्थाका सल्लाहकार हरि रायमाझीले तानसेनकाे तेस्रो सडकमा सडक खाना महोत्सव वर्षेनी आयोजना हुँदै आएको बताउनुभयो । उहाँले नगरपालिकाको सहयोगमा हरेक शुक्रबार आयोजना गरिने खाना महोत्सवले स्थानीय उत्पादनलाई प्रोत्साहित गरेको बताउनुभयो । मंखन टोल विकास संस्थाकी पूर्व अध्यक्ष रिता कक्षपतिले संस्थाले वि स २०५६ सालदेखि सरसफाइ अभियान मार्फत टाेल विकास सस्था गठन गरिएको बताउनुभयो । टोललाई व्यवस्थित बनाउने उद्देश्यले हरेक घरमा बाल्टिन वितरण गरिएको,महिला लक्षित कार्यक्रमहरू , विभिन्न उद्यमशीलताका तालिमहरूले टाेल विकास सस्थाले गर्दै अाएकाे बताउनुभयो । परम्परागत खानाको प्रवर्द्धन गर्न सुरु गरिएको यो खाना महोत्सव छैठौं संस्करणमा पुगेको उहाँले बताउनुभयो । महोत्सवमा ४६ वटा स्टलहरू रहेका छन । जसमा स्थानीय महिला उद्यमीहरूद्वारा उत्पादित सामग्री, कृषि उपज तथा परम्परागत खानाका परिकारहरू प्रदर्शन गरिएकाे छ । २० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको महोत्सवमा स्थानीय कला केन्द्रका प्रस्तुति पनि समावेश गरिएको थियो । कार्यक्रममा मंखन टोल विकास संस्थाका अध्यक्ष ज्ञानु कार्कीले महोत्सवको उद्देश्य स्थानीय उत्पादनको प्रवर्द्धन, परम्परागत खानाको पहिचान कायम राख्ने प्रयास, पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक उत्थान गर्नु रहेको बताउनुभयो । नेवारी, मगर समुदायका परम्परागत परिकारहरू प्रदर्शन, स्थानीय उत्पादनलाई बजारमा पु-याउने लक्ष्यसहित सडक खानामहोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो।