
पाल्पा, जनविकास माध्यमिक विद्यालय रामपुर ३ रजघरा पाल्पाले आफ्नो स्थापनाका ६२ औँ वार्षिक उत्सव मनाएको छ । विद्यालयले माघ २९ गते देखि विवध कार्यक्रमको आयोजना गरि मनाएको वार्षिक उत्सवको शुक्रबार समापन गरिएको छ ।
समापन कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले व्यवहारिक र नैतिक शिक्षा आजको अवश्यकता रहेको बताउनुभयो । उहाँले विद्यालयले मानिसको जीवनशैली संग सम्बन्धित व्यवहारिक र नैतिक शिक्षा दिनु पर्नेमा जोड दिनुभयो । नैतिक शिक्षाको अभावमा पछिल्लो समय हरेक क्षेत्रमा वितृष्णा ,निरासा र नकारात्मक पक्ष हाबि हुँदै गएको उल्लेख गर्नुभयो । नगरपालिका भित्रका विद्यालय भौतिक रुपमा सम्पन्न भएको भन्दै सुविधा सम्पन्न भौतिक संरचनाको सदुपयोग गर्दै समाज परिवर्तन र विकास गर्न सक्ने खालको दक्ष जनशक्ति उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।विद्यार्थीहरुको ईच्छा र चाहाना अनुसार विद्यालय शिक्षा प्रदान गर्न सके मात्र विद्यालय शिक्षा प्रभावकारी हुने औँल्याउनुभयो ।



कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्मान सांसद युवराज खनालले शैक्षिक गुणस्तर वृद्धि संगै गुणस्तरीय शिक्षा प्रदान गरेर अझ विद्यालयको महत्व र प्रभाव बढाउन आवश्यक रहेको बताउनुभयो । यस्तै रामपुर नगरपालिका वडा नं।३ का अध्यक्ष दामोदर पाठकले विद्यालयले स्थापनाकाल देखि यस क्षेत्रको शैक्षिक उन्नयनका लागि पुर्याएको योगदानको चर्चा गर्दै विद्यालयको सर्वाङ्गिण विकासका लागि सबै एक भएर लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका नगर शिक्षा समितिका सदस्य तथा रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले विभिन्न विद्यालयमा विद्यार्थी संख्या घट्नु चुनौतीको रुपमा रहेको भन्दै जनसंख्या घट्दा यो समस्या आएको उल्लेख गर्नुभयो । यस्तै विद्यालयका शिक्षक प्रतिनिध कृष्णकला भण्डारीले पेशा र विद्यार्थीहरुको उज्वल भविष्यलाई प्राथमिकता दिएर अध्यापन गर्दै आएको बताउनुभयो ।विद्यालय व्यवस्थापन समितका अध्यक्ष उमनाथ अर्यालले विभिन्न समस्या र चुनौतिका विच पनि गुणस्तरिय शिक्षा प्रदानका लागि विद्यालय लागि रहेको भन्दै विद्यालयको विकासका लागि सबैको साथ अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पशुपति खनालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने लेखापाल सुन्दर विकले २ करोड १० लाख ९७ हजार ९ सय ४९ रुपैयाँ बराबरको आर्थक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितका अध्यक्ष उमनाथ अर्यालको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विद्यालयका सहायक प्रधानाध्यापक विजय कुमार अधिकारको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक ध्रुव पोखरेलले गर्नु भएको थियो ।
कार्यक्रमका अवसरमा भूपू शिक्षक अक्षयकोषदाताहरुलाई सम्मान गरेको थायो भने बिद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति प्रस्तुति गरेका थिए ।