
पाल्पाकाे सिद्धबाबा सुरुङमार्गको माघ ११ गते ‘ब्रेक थ्रु’ हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूजाआजा गरी सिद्दबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरिने भएकाे हाे ।
आयोजना प्रमुख कृष्णराज अधिकारी भन्छन्, ‘अब दुई मिटर खन्न बाँकी छ । प्रधानमन्त्री ओलीको उपस्थितिमा माघ ११ मा ब्रेक थ्रु गर्न लागिएको छ । भौतिक प्रगति ३८.८५ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत सम्पन्न भएको छ । लाइनिङ, भेन्टिलेसनको काम भने अझै बाँकी छ ।’



सिद्धबाबा सुरुङमार्ग पाल्पा जिल्लाको सिद्धार्थ राजमार्गको तिनाउ ३ दोभान क्षेत्रमा निर्माण गरिएको छ । यो आयोजनाअन्तर्गत २ लेनको मुख्य सुरुङमार्ग १ हजार ८९ मिटर लम्बाइको निर्माण गरिएको छ । यसको मुख्य सुरुङमार्गको चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर छ । लाइनिङसहित यो सुरुङमार्गको कुल लम्बाइ १ हजार १२६ मिटर छ ।
सुरुङमार्ग छिचोल्ने काम अन्तिम चरणमा पुगे पनि सुरुङभित्रको लाइनिङ र ‘स्लोप’ मिलाउन समय लाग्ने भएकाले सवारी गुडाउन एक वर्ष अझै लाग्ने आयोजनाले जनाएको छ ।
यो सुरुङमार्गमा सवारी साधन गुडिरहेको बेला आपातकालीन अवस्थामा यात्रुलाई उद्धार गर्न १५१ मिटरको पहिलो बाइवास, १६१ मिटरको दोस्रो बाइपास र १३० मिटर दुरीको तेस्रो बाइपास पनि निर्माण गरिएको छ ।
यसको पहिलो बाइपास सुरुङमार्ग २०८१ असोज ४ गते छिचोलिएको थियो । दोस्रो २०८१ पुस ७ गते र तेश्रो बाइपास २०८१ भदौ २६ गते छिचोलिएको थियो ।
मुख्य सुरुङमार्गमा समस्यामा परेमा यात्रुको उद्धार गरी तत्कालै उपचारका लागि लैजान सुरुङमार्गको उत्तर र दक्षिणपट्टी हेलिप्याडसमेत निर्माण गर्ने तयारी छ ।
सुरुङमार्ग छिचोल्ने काम अन्तिम चरणमा पुगे पनि सुरुङभित्रको लाइनिङ र ‘स्लोप’ मिलाउन समय लाग्ने भएकाले सवारी गुडाउन एक वर्ष अझै लाग्ने आयोजनाले जनाएको छ ।
भित्तामा कङ्क्रेटिङ गर्ने, वाटर प्रुफिङ, सडक निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ्ग, लाइटिङ, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायतका काम गर्न बाँकी छ । यो आयोजना २०७८ फागुनमा २५ गते ५ वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर(भ्याट) सहित लागतमा बनाउने ठेक्का सम्झौता गरेको थियो ।
ठेक्का शर्तअनुसार पहिलो फेजमा निर्माण सुरु भएको ५ वर्षभित्र अर्थात् २०८३ चैत ८ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । यो सुरुङमार्ग २०८० पुसदेखि खन्ने काम सुरु गरिएको थियो । सम्झौताअनुसार यो सुरुङमार्ग अब १४ महिनाभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने छ । तोकिएको म्याद अघि नै निर्माण सम्पन्न हुने देखिएको आयोजना प्रमुख अधिकारी बताउँछन् ।
ठेक्का सम्झौताअनुसार यो सुरुङमार्ग निर्माण सकिएपछिको ५ वर्षसम्म निर्माण कम्पनीलाई नै सञ्चालन तथा मर्मत सम्भार गर्ने गरी अधिकार दिइएको छ । यो सुरुङमार्गको वारेन्टी ५ वर्षको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रकाे यात्रा गर्न सहज हुनेछ ।