गृहमन्त्री रमेश लेखकले इलाका प्रशासन कार्यालय पाल्पा रामपुरको नवनिर्मित भवनको बुधबार रामपुरमा उद्घाटन गरेका छन् । उनले भवनकाे उद्घाटन गर्दै अपराध गर्ने जोसुकै कानुनी दायरामा आउने बताए ।

गृहमन्त्री लेखकले जोसुकैले अपराध गरेको छ भने कानुनबमोजिम अनुसन्धान हुने भन्दै मान्छे सानो छ वा ठूलो छ भन्ने भन्दा पनि कुनै गैरकानुनी काम भएको छ भने जतिसुकै ठूलो मान्छे भए पनि अनुसन्धानमा जानुपर्ने बताएका थिए ।

गृहमन्त्री लेखक भन्छन्, भ्रष्टाचार समाप्त गरेर सुशासन कायम गर्न सरकार बनेको हाे । शान्ति, सुरक्षालाई पूर्णरुपमा कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको  छ । विधिको शासन भएन भने विधिवत् शासन संचालन हुन सक्दैन,’ उनले भने, ‘त्यसैले पहिलो सर्त भनेकै शान्ति, सुरक्षा हो ।’

सदरमुकाम तानसेनदेखि ७० किलोमिटर पूर्वको रामपुर नगरपालिकामा इप्रका ८ वर्षदेखि भाडाको भवनमा साँघुरो कोठाबाट सेवा प्रवाह गर्दै आएको थियो । गृहमन्त्री लेखकले इप्रकाबाट राहदानी सेवा र राष्ट्रिय परिचयपत्रको समेत सेवा शुभारम्भ गरे ।

प्रतिनिधिसभा सदस्य नारायण आचार्यले रामपुर क्षेत्रको विकासका लागि इलाका प्रशासन कार्यालयसँगै इलाका प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षकको दरबन्दीको माग गरे । राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले कालीगण्डकी करिडोर सडकसँगै रामपुर क्षेत्रमा बसाइँसराई गरेर आउनेको संख्या बढेकाले सेवा सुविधा थप्दै लानुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेशसभा सदस्य राजु श्रेष्ठले रामपुर क्षेत्रलाई रोल्पासम्म जोड्ने गरी सडक निर्माण अघि बढेको र यस क्षेत्रका नागरिकलाई धेरैभन्दा धेरै सुविधा दिन लागि परेको बताए । प्रदेश सांसद वीरबहादुर रानाले भवनबाट सेवा प्रभावकारी बनाउनुपर्ने र नागरिकले सेवा सुविधा नपाएको गुनासो सुन्न नपर्ने अवस्था आउनुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जिल्ला समन्वय समितिको अधिकारका विषयमा संघीय सरकारले बेलैमा सोच्नुपर्नेमा जोड दिए । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले रामपुर नगरपालिका, निस्दी र पूर्वखोलाका नागरिकलाई राहदानीका साथै राष्ट्रिय परिचयपत्र वितरण हुँदा ७० किलोमिटर टाढाको सदरमुकाम धाउन नपर्ने बताए ।

१४ कोठा सहितको साढे २ तले भवन निर्माण भएपछि त्यहींबाट गत साउनदेखि सेवा दिन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए । चार करोड ६८ लाख ६८ हजार ८ सय ५३ रुपैयाँ लागतमा निर्माण कम्पनीले गत असार २२ मा भवन निर्माण सकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय