सुशीला रेग्मी
रामपुर (पाल्पा), ९ कात्तिक

पाल्पा रामपुर नगरपालिका ९ स्थित लाम्दीखोलाका नारायण भुषालले अहिले व्यावसायीक रुपमा तरकारी खेती सुरु गर्नुभएको छ । करिव दुई दशक अर्काको देशमा मजदुरी गर्नुभएका भुषालले यतिबेला भने गाउँमा बसेर तरकारी खेतीमा तल्लिन हुनुहुन्छ ।
रामपुर ७ स्थित बहखोलामा जग्गा भाडामा लिएर उहाँले करिव पाँच रोपनी जग्गामा तरकारी लगाउनुभएको छ । एक वर्ष अघि विदेशबाट फर्के लगत्तै उहाँले यो व्यावसाय थालनी गर्नुभएको हो ।
“लामो समयसम्म अर्काको देशमा पसिना बगाए, गाउँ फर्के लगत्तै जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेको छु, अहिले तरकारी लगाउने, बेच्ने, रेखदेखमै व्यस्त छु” उहाँले भन्नुभयो ।
उहाँले तीन वर्षका लागि वार्षिक रु ४० हजार बुझाउने गरी जग्गा भाडामा लिनुभएको छ । बेमौसमी तरकारी उत्पादनलाई जोड दिनुभएको छ । अहिले काउली, ब्रोकाउली, बन्दा, धनिया, साग, मूला लगायतका तरकारी लगाउनुभएको छ ।
कुनै तरकारी हुर्कदै छन् भने कुनै विरुवा लगाउने गरिरहनुभएको छ । व्यावसाय सुरु गरेको पहिलो वर्षम नै राम्रो आम्दानी भएपछि भुषाललाई तरकारी खेतीमा उत्साह थपिएको छ । एक वर्षमा उहाँले रु चार लाख बराबरको आम्दानी गरेको बताउनुभयो । वार्षिक रुपमा रु सात लाखसम्म आम्दानी गर्ने उहाँको लक्ष्य रहेको छ ।
रोजगारको क्रममा उहाँ भारतमा १३ वर्ष, मलेसिया तीन वर्ष र युएईमा तीन वर्ष पसिना बगाउनुभयो । लामो समय अर्काको देशमा पसिना बगाउँदाको क्षण सम्झदा अहिले उहाँलाई पश्चाताप लागेको छ ।
उहाँ भन्नुहुन्छ, “अर्काको देशमा धेरै दुःख छ, विदेशको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ, दिनमा कम्तिमा पनि १२ देखि १५ घण्टाको काम गर्नुपर्छ, तैपनि कामअनुसारको सुबिधा पाइदैन, आफ्नो देशमा त आनन्दले परिवारको साथमा काम गर्न पाइन्छ, यसमै आनन्द छ” ।
परिवारको समस्याले कक्षा ५ अध्ययन गर्ने क्रममा पढाईलाई बीचमै छाडेर भारतमा रोजगारीका लागि पुगेको उहाँ बताउनुहुन्छ । बाल्यकालमा परदेशको दुखकष्ट भोग्नुभएका भुषालले गाउँमै बसेर दिनमा दुई घण्टाको समय कृषि तथा पशुपालनमा खर्च गरियो भने रामै्र कमाउन सकिने बताउनुहुन्छ ।
उहाँलाई यो व्यवसायमा श्रीमती कल्पना भुषालले सघाउनुभएको छ । दुई जना छोराछोरीको पालनपोषण, पढाई खर्च, घरव्यवहारका लागि तरकारी लगाएर मज्जाले धान्न सकिने उहाँ बताउनुहुन्छ ।
रामपुर बजारमै तरकारी बिक्रि हुने भएपछि धेरै सजिलो भएको छ । व्यापारी घरमै आएर तरकारी खरिद गरेर लैजाने गरेको उहाँ बताउनुहुन्छ । तरकारी मात्र नभई विरुवा उत्पादन गरेर बिक्रि समेत गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय