पाल्पा, कार्तिक १४
भर्खरै मात्र पाल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा आउनुभएका तोय नारायण सुबेदीले जिल्ला स्थित आफू मातहतमा रहेका निकायहरुलाई सुशासनमा प्राथमिक दिने गरि काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
बुधबार तानसेनमा पाल्पामा क्रियाशिल पत्रकारहरुसंगको परिचयात्मक तथा स्वागत कार्यक्रममा नब आगन्तुक प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदीले शान्ति सुरक्षा र सुशासन आफ्नो मुख्य प्राथमिकता पर्ने बताउनुभएको छ । पहिलो पटक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर पाल्पा आउनुभएका प्रजिअ सुबेदीले सरकारी कार्यालयमा हुने ढिलासुस्ती, अनियमितता र लापरबाहीलाई रोक्ने बताउनुभयो ।
उहाँले सरकारी कार्यालय अनुगमन, कार्यालयमा सहि समयमा उपस्थित नहुने, पोसाक नलगाउने तथा सरकारी सवारी आफ्नो निजि जस्तो गरि प्रयोग गर्ने कर्मचारीहरु प्रती आफू कडा रुपमा प्रस्तुत हुने बताउनुभयो । उहाँले प्रशासन कार्यालयले पत्रकारहरुलाई सूचना प्रभाह नियमित गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पत्रकारहरुले सुशासन, सरकारी कार्यालयमा ढिलासुस्ती, सरकारी सवारीको दुरुपयोग, विद्युत समस्या, सडक सुरक्षा, बजार मुल्यमा मनपरी, सरकारी कार्यालयमा हुने आर्थिक चलखेल,मनपरी भाडादर लगायतका बिषयमा नब आगन्तुक प्रजिअ सुबेदीलाई समग्र जिल्लाको बस्तु स्थितिको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा पत्रकार भरत शर्मा,राजेन्द्र लिगल, बिष्णु खनाल, मुक्ति न्यौपाने,कृष्ण पोखरेल,कमल तिमिल्सिना, माधब अर्याल,अनिल लिगल रेखिराम राना लगायतले प्रजिअ सुबेदीलाइ पाल्पामा स्वागत गर्दै जिल्लाको बस्तुस्थितीको बारेमा जानकारी गराएका थिए ।