
पाल्पा ,असोज २३
पाल्पामा शनिबार र बिदाको समयमा सरकारी सवारी दुरुपयोग हुने गरेको पाइएको छ । ब्यक्तिगत काम र घरयासी प्रयोजनमा समेत सरकारी सवारी प्रयोग हुने गुनासो बढेको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिकाले भने दशैँ बिदाको अवधिमा सरकारी सवारी साधन नचलाउने निर्णय गरेको छ । विजयी दशैँको बिदा अबधि र बिदा वा काजमा बसी कार्यालयमा ३ दिन भन्दा बढी समय अनुपस्थित हुने अवस्थामा कर्मचारी तथा जनप्रतिनिधिले सरकारी सवारी साधन सञ्चालन नगर्ने निर्णय भएको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी गराउनुभयो ।



बिदा वा काजमा बसी कार्यालयमा ३ दिन भन्दा बढी समय अनुपस्थित हुने कर्मचारीहरु तथा जनप्रतिनिधिले आफ्नो जिम्मामा रहेको सवारी साधन कार्यालय परिसरमा व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको रिब्दीकोट गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो ।
रिब्दीकोट गाउँपालिकाभित्रका कर्मचारी तथा जनप्रतिनिधिले आफ्नो जिम्मामा रहेको सवारी साधनको साँचो जिन्सी शाखामा बुझाउनेपर्ने छ ।
सार्वजनिक विदाको दिनमा सरकारी साधन संचालन गर्नु परेमा जिल्ला प्रशासन कार्यालयको सवारी साधन संचालन अनुमति पत्र लिएर मात्र संचालन गर्ने तथा सो नियम पालना नगर्ने व्यक्तिलाई सवारी साधन सुविधा उपलब्ध नगराउने भनी निर्णय भएकोले प्रशासन शाखा प्रमुख रुकलाल भट्टराईले बताउनुभयो ।
यता जिल्ला प्रहरी कार्यालय पाल्पाले बिदाको समयमा सरकारी सवारी जिल्ला प्रशासनको पास बिना चलाएको पाइएमा करवाही हुने जनाएको छ । जसका लागि टा«फिक प्रहरीले हाइबे तथा भित्री सडकहरुमा समेत चेकिङ्गलाई बढाएको प्रहरी प्रमुख नरेन्द्र चन्दले बताउनुभयो ।
तस्बिर माधब अर्यालबाट