पाल्पा, साउन २७
वाङ्मय प्रज्ञा—प्रतिष्ठान, पाल्पाको आयोजनामा ७१ औ प्रतिभा संगम कार्यक्रम जनता माध्यमिक विद्यालय, तानसेनमा आज सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न साहित्यकारहरूले सिर्जना वाचन, पुस्तक वार्ता एवम् साहित्यिक धारणाका बारेमा चर्चा गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जनता मा वि का प्रधानाध्यापक एवम् साहित्यकार हरिप्रसाद घिमिरेले वाङमय, कला र साहित्यका क्षेत्रमा विद्यालयले सहकार्य गर्ने बताउनु भयो । उहाँले शिक्षा शिर्षकको कविता वाचन गर्दै सभ्य, सिपयुक्त र नैतिक जनशक्ति निर्माणमा शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण हुने तर शिक्षक सदा उपेक्षित हुने तीतो यथार्थ प्रस्तुत गर्नुभयो । ं
  त्यस्तै विश्व नेपाली साहित्य प्रतिष्ठान, लुम्बिनी प्रदेश अध्यक्ष भावना खनालले शार्दूलबिक्रीडित छन्दमा नलाउ कर शिर्षकको कविता वाचन गर्नुभयो । उहाँको कवितामा माया हृदयको आत्मिक भाव हो र धन सम्पति सुख सयलभन्दा काँढा विचमा रहेर खूशी हुँदै प्रगति पथमा लाग्ने प्रेरणा हो भन्ने सन्देश थियो । नेपाली गद्य कविताका चर्चित कवि आर. बि. निश्चलले बाँच्दै आइरहेछु या मर्दै शिर्षकको कवितामा जीवन जिउने र मर्ने विचको द्वन्द्वलाई सूक्ष्म तरिकाले प्रस्तुत गर्नुभयो ।
त्यस्तै तरंग साहित्य संगमका सचिव राम प्रसाद अर्याल, गुलेली कविता उपविधाका प्रबर्तक रोहित ज्ञवाली, प्रतिष्ठानका अध्यक्ष गोपाल प्रसाद वश्याल, साहित्यकार सिताराम घिमिरेले कविता वाचन गर्नुभएको र प्रतिष्ठानका सचिव गणेश नेपालीले गजल वाचन गर्नुभएको थियो । यी रचनामा मानवीय,, सामाजिक र राजनीतिक विकृति र विसंगतिप्रति ब्यंग्यात्मक भाव प्रकट भएका थिए ।
कार्यक्रममा प्रतिष्ठानका पूर्व महासचिव गोविन्द भट्टराईले प्रतिष्ठानका संस्थापक अध्यक्ष स्व. जगत बहादुर जोशीको जीवनी र कृतिहरूबारे चर्चा गर्नुभयो । त्यस्तै शिक्षक रामप्रसाद ढकालले अविराम बाबुराम र नलेखिएको इतिहास नाम पुस्तकहरूको मुख्य अंशहरूको चर्चा गर्नुभयो ।
कार्यक्रम वाङ्मय प्रज्ञा—प्रतिष्ठान, पाल्पाका अध्यक्ष गोपाल प्रसाद वश्यालको अध्यक्षता र सचिव गणेश नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय