गोपाल प्रसाद वश्याल
पाल्पा, साउन २१
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८० मा अंग्रेजी विषयमा ननग्रेडिङ्ग नतिजा प्राप्त गरी ग्रेड बृद्धि परीक्षाका लागि तयारी गरिरहेका पाल्पाका विद्यार्थीहरूलाई निःशुल्क कक्षा सञ्चालन गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको अनुरोधमा नेल्टा केन्द्रीय समितिको निर्देशन र प्रदेश समितिको उत्प्रेरणा र शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाको समन्वयमा पाल्पा जिल्ला समितिले पाल्पाका १० केन्द्रमा एसइइ सहयोग कक्षा सञ्चालन गरेको हो । फरकफरक शिक्षकहरूले अनुच्छेद पढी उत्तर दिने पठन सिप विकास, लेखन सिप विकास र ब्याकरणीय ज्ञानका सम्बन्धमा शिक्षण गर्नुभएको नेल्टा पाल्पाका अध्यक्ष कमलराज बस्यालले बताउनुभयो ।
यस क्रममा तानसेनको जनता मा वि केन्द्रमा नेल्टा सदस्य शिक्षकहरू हरि प्रसाद घिमिरे, गोपाल ढुंगाना, द्रोणराज न्यौपाने, र प्रेम कुमारी थापाले शिक्षण गर्नुभएको थियो । यस केन्द्रमा २४ जना विद्यार्थीहरूले छ घण्टा अध्ययन गरेका थिए । त्यसैगरी सरस्वती मा वि रिब्दिकोटमा नौ जना विद्यार्थीले पाँच घण्टा अध्ययन गरेका र नेल्टा सदस्यहरू मदन नेपाल, विनोद भट्टराई र विष्णु प्रसाद सिग्देलले शिक्षण गर्नुभएको थियो । भगवती मा वि रैनादेवी छहरा केन्द्रमा २६ जना विद्यार्थीले पाँच घण्टा अध्ययन गरेका र नेल्टा सदस्यहरू मित्रलाल भट्टराई र अच्युतराज नेपालले सहजीकरण गर्नुभएको थियो । त्यस्तै माथागढीको दिब्यज्योति मा वि सराईमा ३९ जना विद्यँर्थीहरूले १० घण्टा अध्ययन गरेका र नेल्टा सदस्यहरू कृष्ण प्रसाद खनाल, विनोद भट्टराई, संगिता पाण्डे, प्रेम कुमारी थापा, अच्युतराज नेपाल र खगेन्द्र वश्यालले सहजीकरण गर्नुभएको थियो । माथागढीको किसान मा वि झडेवामा २४ जना विद्यार्थीहरूले छ घण्टा अध्ययन गरेका थिए । यहाँ शिक्षकहरू गोपाल प्रसाद वश्याल, विष्णु प्रसाद सिग्देल र लोकेन्द्र थापाले सहजीकरण गर्नुभएको थियो । त्यसैगरी पूर्वखोला गाउँपालिकाको उद्बुद्ध मा वि मा २१ जना विद्यार्थीहरूले पाँच घण्टा अध्ययन गरेका र शिक्षकहरू झमानसिं ढेंगा, कमलराज वस्याल र अनुराज वि क ले शिक्षण गर्नुभएको थियो । त्यसैगरी शम्भु मा वि जल्पामा २६ जना विद्यार्थीहरूलाई शिक्षकहरू कमलराज वस्याल, टोलसरी राई, सृचन राना र रिता रानाले छ घण्टा शिक्षण गर्नुभएको थियो । पूर्वखोला कै मातृभूमि मा वि मा शिक्षकहरू गोपाल प्रसाद वश्याल, लोकन्द्र थापा र टोलसरी राईले २५ जना विद्यार्थीका लागि पाँच घण्टा शिक्षण गर्नुभएको थियो । यसैगरी रामपुर नगरापालिकाको भानुभक्त मा वि मा गिता गाहा, गोपाल ढुंगाना र गोविन्द न्यौपानेले पाँच घण्टा कक्षा सञ्चालन गर्नुभएको र १९ जना विद्यार्थीहरू सहभागी भएका थिए । त्यस्तै ८ जना विद्यार्थी सहभागी भएको रामपुरकै रामतुल्सी मा वि मा शिक्षकहरू तारा सेढाईं, गिता गाहा र गोविन्द न्यौपानेले ४ घण्टा शिक्षण गर्नुभएको थियो ।

शिक्षकहरूको पेशागत क्षमता विकासका कार्य गर्दै आइरहेको नेल्टाले विद्यार्थीका लागि पहिलो पटक सहयोगी कक्षा सञ्चालन गरेको नेल्टा पाल्पाका अध्यक्ष कमलराज बस्यालले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय