पाल्पा (रामपुर), असार २२
नगरपालिकामा मेयरसँग बालबालिका कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको समस्या पहिचान गर्नुका साथै आवश्यक कार्यक्रम सञ्चालन गर्न र सुझाव संकलन गर्ने उद्देश्यका सहित कार्यक्रम भएको हो ।
दरैठाँटी माध्यमिक विद्यालय रामपुर ६ विजयपुरको सभाहलमा भएको कार्यक्रममा नगर भित्रको विद्यालयमा अध्ययनरत बालबालिकाहरु संग नगर प्रमुख रमण बहादुर थापाले अन्तरक्रिया गर्नु भएको थियो । कार्यक्रममा सहभागी बालबालिकाहरुले शिक्षा क्षेत्रमा आगामी वर्ष हुने कार्यक्रम, असहाय बालबालिकाको लागि नगरको सहयोग, विज्ञान तथा प्रविधि क्षेत्रमा बालबालिकाको प्रतिभा प्रस्फुटनमा नगर लिएको नीति, लागुपदार्थ दुव्र्यासनी न्यूनिकरण, प्रविधि मैत्री शिक्षाको लगाएतका विषयमा आफ्ना जिज्ञासा राखेका थिए । अन्तरक्रियामा भूपू सैनिक राईजिङ्ग इङ्गलिश स्कुलका मनिषा नेपालीले नगर पालिका बाट निजी विद्यालयको अनुगमन हुनुपर्ने, कार्यक्रमहरु समय मै हुनुपर्ने सुझाव राख्नु भएको थियो । दरैठाँटी माविका विद्यार्थी सृष्टि खनालले अभिभावक विहिन असहाय बालबालिकाको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । सोही विद्यालयका सुप्रिया पोखरेल, आकृति भण्डारी, निकिता ढकाल र अविशा भट्टराईले लागुपदार्थ दुव्र्यासनी, मोबाईल फोनको दुरुपयोग बाट सचेत गराउन सचेतना कार्यक्रममा जोड दिनु पर्ने बताउनुभयो । शहिद बहुमुखी क्याम्पसका रेशम कुमारी नेपालीले समय अनुसार प्रोजेक्टरको माध्यम बाट शिक्षण गर्ने विधि लागु गर्दै जानु पर्ने बताउनुभयो । भुपु सैनिक राईजिङ्ग स्कुलका सक्षम बस्ताकोटीले विज्ञान प्रविधिको प्रयोग गरी नयाँ सामाग्रीको अनुसन्धान र आविष्कारका लागि विद्यार्थीलाई नगरपालिकाले प्रोत्साहनका कार्यक्रम गर्नु पर्ने बताउनुभयो ।
बालबालिकाको प्रश्न र जिज्ञासा मेटाउँदै नगर प्रमुख थापाले बालबालिका भविष्यको आधार भएकाले उनीहरुको समस्या र धारणा बुझ्न कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाँले पूर्वाधार विकास संगै बालबालिकाको शिक्षाका लागि नगरपालिका प्रतिवद्ध भएर लागेको बताउनुभयो । असहाय बालबालिकाको संरक्षणका लागि नगरपालिकाले आफ्नो तर्फ बाट र अन्य संघ संस्था संग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । २०७४ पछि जन्मिएका नानीहरुलाई स्नातकोत्तर सम्म नगरपालिकाले निशुल्क शिक्षाको प्रदान गर्ने नीति लिएको जानकारी दिदै आर्थिक अभावमा कोही पनि बालबालिका शिक्षा बाट वञ्चित हुनु नपर्ने बताउनुभयो । बालबालिकाको सुझावलाई पूर्ण पालना गर्दै नगरपालिका अघि बढ्ने बताउँदै थापाले शिक्षा आर्जन गरी देशको लागि योगदान गर्छु भन्ने धारणाका साथ अघि बढ्न बालबालिकालाई अनुरोध गर्नुभयो ।
कार्यक्रमको अवसरमा नगरपालिकाले ३ जना बेसाहारा बालबालिकाहरुलाई बाल उद्धार कोष मार्फत २० हजार प्रदान गरिएको थियो । साथै कार्यक्रममा वडा नं. १, ९ र १० बाहेक नगर भित्रका २१ वटा सामुदायिक विद्यालय र १ वटा क्याम्पसका १ सय २४ विद्यार्थीलाई मेयर छात्रवृत्ती कार्यक्रम मार्फत छात्रवृति प्रदान गरिएको थियो । शहीद बहुमुखी क्याम्पस रामपुरमा भर्ना भएका २४ जना दलित समुदायका विद्यार्थीहरुलाई भर्ना शुल्क वापतको दुईलाख १६ हजार ६ सय प्रदान गरिएको नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो । यस शैक्षिक सत्रको पहिलो चरणमा वडा नं. २, ३, ४, ५, ६ र ७ मा रहेका प्राथमिक तहको विद्यालयमा २÷२ जना, आधारभूत तहको विद्यालयमा ४÷४ जना र मावि तहको विद्यालयमा ६÷६ जनालाई छात्र वृति प्रदान गरिएको हो । विद्यार्थी संख्या धेरै भएको विद्यालय रामतुलसी माविमा १४ जना र दरैठाँटी माविमा १० जनालाई छात्रवृति प्रदान गरिएको छ । साधारण तर्फ २ हजार ५ सय र उच्च प्राविधिक तथा विज्ञान संकायका विद्यार्थीलाई ४ हजारको दरले छात्रवृति प्रदान गरिएको काफ्लेले जानकारी दिनुभयो । बाँकी विद्यालयका विद्यार्थीहरुलाई दोस्रो चरणमा यहि शैक्षिक वर्ष भित्र रकम प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले आफ्नो प्रतिभा समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा गंगा माविका छात्रा हिमाली जिटी, रामतुलसी माविका छात्रा संञ्चिता थापा र शहीद बहुमुखी क्याम्पसका रेशम कुमारी नेपालीले शुभकामना मन्तव्य राख्दै नगरपालिका प्रति आभार व्यक्त गर्नु भएको थियो । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम उपप्रमुख बालकुमारी थापाको स्वागत र नगर शिक्षा अधिकृत विकल काफ्लेको सञ्चालनमा भएको हो ।