उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या एक सय नाघेको छ । उत्तर प्रदेश प्रहरीको आगरा जोनको एडीजी कार्यालयले यसको पुष्टि गरेको हो । भारतको उत्तर प्रदेशको धार्मिक मेलामा भागदौड हुँदा तीर्थयात्रीको मृत्यु भएको हाे ।
एडीजी कार्यालयका अनुसार धेरै ठाउँमा शव लगिएको छ, त्यसैले मृत्युको यकिन सङ्ख्या पछि थाहा हुनेछ। यसअघि हातरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले हातरस दुर्घटनामा करिब ६० जनाको मृत्यु भएको र १८ जना घाइते भएको जानकारी दिएका थिए ।
घटनामा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको बताइएको छ । कयौं महिला तथा बालबालिका अझै हराइरहेका छन् ।
घटनामा परी घाइते भएका सयौंको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार एक जना कथावाचकको प्रवचन सुन्न हजारौँ भेला भएको ठाउँमा भागदौड भएको थियो । भागदौडको कारण स्पष्ट भइसकेको छैन ।
घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शी ब्रजेशले स्थानीय पत्रकार धर्मेन्द्र चौधरीलाई भने, ‘कार्यक्रम सकिएपछि भोले बाबाको खुट्टाको धुलो उठाउन मानिसहरू दौडिएका थिए । बाबा अर्को तर्फ जाँदा मानिसहरू त्यतातिर त्यतातिर दौडे । यो प्रक्रियामा धेरै मानिसहरू सडकको छेउको खाडलमा खसेर भागदौड मच्चियो, जसले गर्दा धेरै मानिसको ज्यान गएको थियो ।’ ब्रजेशका अनुसार मृतकमा अधिकांश महिला र बालबालिका रहेका छन् ।
अर्का व्यक्ति श्री दयालले आफू र भाइ सौदान पनि प्रवचन सुन्न आएको बताए । तर यो घटनापछि उनको भाइको अवस्था भने खुल्न सकेको छैन । उनले भने, ‘कार्यक्रम सकिएपछि मानिसहरू निस्कन थालेपछि भागदौड मच्चियो र धेरै मानिस फसेका थिए । भाइको अवस्था पत्ता लाग्न सकेको छैन ।’ दिउँसो २ बजेतिर दुर्घटना भएको उनले बताए ।
बीबीसी