पाल्पा, रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरु संग छलफल सहित सुझाव संकलन गरेको छ । नगरपालिकाले बुधबार सल्लहाकार र पत्रकारहरु संग नीति तथा कार्यक्रमका लागि सुझाव संकलन संगै छलफल गरेको हो ।

छलफलमा सहभागिहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि र पर्यटनमा जोड दिनु पर्ने बताएका छन् । स्वरोजगार र आर्थिक समृद्धिका लागि नगरको पर्यटन क्षेत्रको पहिचान संगै विस्तार र विकासमा जोड दिन सुझाएका छन् । दिगो विकास र समृद्धिको आधार नै कृषि र पर्यटन रहेको बताएका छन् । छलफल कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका पूर्व उपप्रमुख विष्णुदेवि घिमिरे आचार्यले पर्यटन लगाएत अन्य व्यवसायको प्रवर्द्धन गर्ने नीति अबलम्बन गर्न आवश्यक रहेको औँल्याउनुभयो ।उहाँले धार्मिक तथा पुरातात्विक महत्व बोकेका क्षेत्रको विकास संगै पर्यटन प्रवर्द्धन गर्नु पर्ने बताउनुभयो । यस्तै नगरपालिकाका सल्लहाकार सदस्य तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सदस्य विष्णुमाया ढकालले पर्यटनको विकास संगै राजश्व वृद्धि हुने क्षेत्रमा लगानी बढाउन सुझाव दिनु भएको छ । साथै उहाँले हरेक विद्यालयमा प्रदान गरिने शिक्षालाई व्यवहारिक बनाई फरक शिक्षा नीति लागु गर्न आग्रह गर्नुभयो । ।

कार्यक्रममा वडा नं.१ का पूर्व अध्यक्ष मित्रलाल कंडेलले दिगो विकास र आवश्यकताको पहिचान गरेर अगाडी बढ्न आग्रह गर्दै वातावरण अनुसारको कृषि खेति प्रणाली लागु गर्न आवश्यक रहेको बताउनु भएको छ ।यस्तै वडा नं.३ का निवर्तमान अध्यक्ष दिनेश खनालले कृषिमा आधुनिकिकरणको नीति अबलम्बन गर्न सुझाउनुभयो । वडा नं.५ का निवर्तमान अध्यक्ष हिमाल मल्लले रोजगार सिर्जना गर्ने खालका कार्यक्रम ल्याउनु पर्ने बताउनु भएको छ । छलफल कार्यक्रममा वडा नं. ८ का निवर्तमान वडाध्यक्ष बोम बहादुर नामजालीले रामपुरको महिमालाई जोड दिदै पर्यटन प्रवर्द्धनको नीति लागु गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्तै वडा नं.१० का निवर्तमान अध्यक्ष लिल बहादुर गाहाले पहुँच मार्गलाई प्राथमिकतामा राखेर योजना सञ्चालन गर्न सुझाउनु भएको छ । यसैगरी रामपुर नगरपालिकाका सल्लहाकार फणेश्वर गौतमले नगरको विकासका लागी तिनै तहको सरकारविच समन्यव गर्दै कृषि र पर्यटनको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

 यस्तै नगर सल्लहाकार  राम प्रसाद गैरेले आर्थिक समृद्धि संगै आत्मनिर्भर बनाउने खालका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनु भएको छ । छलफलमा नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य सुनिल कार्कीले रामपुर अनेकन सम्भावना बोकेको नगरपालिका भएको भन्दै प्रचार प्रसार संगै समुन्नत विकास गर्न आग्रह गर्नु भएको छ । छलफल कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नीति तथा कार्यक्रम राम्रो भए उपलब्धी हासिल हुने भन्दै आवश्यकता अनुसार संकलित सुझावलाई कार्यान्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । साथै रामपुर नगरपालिकाको आर्थिक समृद्धि ,रोजगारी सिर्जना, कृषि र पर्यटनको विकास संगै समुचित विकास गर्ने नीति तथा कार्यक्रम ल्याउने बताउनु भएको छ ।

 नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले गर्नु भएको थियो । नगरपालिकाको कार्यालयमा भएको छलफल तथा सुझाव संकलन कार्यक्रममा नगरपालिकाका सल्लहाकार र पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय