पाल्पा, जेठ २४

रामपुरका महिला दिदिबहिनीहरुले प्राकृतिक रेशाजन्य वनस्पतीको पोस्करबाट हस्तकलाका विभिन्न सामग्री बनाउने तालिम पाएका छन् । महिला दिदिबहनीहरुले मकैको खोस्टा, थाकलको पातबाट  हाते झोला,टोपी लगाएतका विभिन्न सामग्री बनाउने सिप सिकेका हुन । रामपुर नगरपालिका भित्रका ४० जना महिला दिदिबहनीहरुले हस्तकलाका सामग्री बनाउन सिकेका छन् ।रामपुर नगरपालिकाको आयोजनामा एक महिने तालिम प्रदान गरिएको छ ।रामपुर नगरपालिका वडा न.५ र ६ मा सञ्चालन भएको तालिमको मंगलबार समापन गरिएको छ ।

 तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सिकेका सिपको माध्यमबाट हस्तकलाका सामग्री उत्पादन गर्न आग्रह गर्नु भएको छ। नगर प्रमुख थापाले उत्पादित हस्तकला सामग्री नगरपालिकाले खरिद गरिदिने र उत्पादनको आधारमा अनुदान पनि दिने बताउनु भएको छ । उहाँले भन्नुभयो- “सिकेको सिपको सदुपयोग गरेर उत्पादन गर्नुस त्यसको बजारीकरण र खरिद नगरपालिकाले गर्छ ।” नगरपालिकामा हुने विभिन्न कार्यक्रममा स्वागत सम्मान गर्दा मायाको चिनो उपहारको रुपमा प्रदान गर्न स्थानीय उत्पादनलाई प्राथमिकता दिने बताउनु भएको छ । स्थानीय स्रोत र साधनको सदुपयोग गरि महिला दिदिबहिनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिईएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।

  यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले महिला दिदिबहिनीहरुलाई स्वाबलम्बी र उद्यमी बनाउन नगरपालिकाले विभिन्न कार्यक्रम मार्फत जोड दिंदै आएको बताउनु भएको छ । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन विभिन्न तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । गाँउघरमा पाईने मकैको खोस्टा र थाकलको पातबाट पनि आयआर्जन गरी आत्मनिर्भर बनाउन तालिम सञचालन गरिएको बताउनुभयो ।तालिममा सिकेका सिपको माध्यमबाट उत्पादित बस्तु नगरपालिकाले खरिद गरि उपप्रमुख कोशेली घर मार्फत खरिद गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

  कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले हस्तकलाका सामग्री सजावटको लागि प्रयोग हुने भन्दै खाली समयको सदुपयोग गरेर भए पनि उत्पादन गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले खेर गएका मकैको खोस्ट र थाकलको पातको सदुपयोग संगै आर्थीक लाभ लिन आग्रह गर्नु भएको छ । कार्यक्रममा तालिमका प्रशिक्षक डिला सिंजालीले तालिममा सिकेका कुरा व्यवहारमा उतारेर आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । यस्तै सहभागिहरुको तर्फबाट रेखा पौडेल र सुमन खाम्चाले तालिम लाभदायी भएको भन्दै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर नगरपालिकाको सभाहलमा भएको तालिम समापन कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले गर्नु भएको थियो । साथै समापनको अवसरमा सहभागी प्रशिक्षार्थीहरु मध्यबाट उत्कृष्ट ३ जनालाई पुरस्कृत गरेको छ ।तालिमको सहजिकरण डिला सिंजाली, माया राना ,तारा थारु र सरस्वती चौधरीले गर्नु भएको थियो । रामपुर नगरपालिकाको आयोजना र ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाण्डौको प्राविधिक सहयोगमा प्राकृतिक रेशाजन्य वनस्पतीको पोस्करबाट हस्तकलाका विभिन्न सामाग्री उत्पादन सम्बन्धी तालिम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय