पाल्पा, जेठ २१

रामपुर नगरपालिका वडा नं. १ पाल्पामा आधारभूत व्यवसायिक सिलाई कटाई तालिम आइतबार  सम्पन्न भएको छ । रामपुर नगरपालिकाको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत महिला दिदी बहिनीहरुको लागि तीन महिने तालिम संगै प्रविधि हस्तान्तरण गरेको हो ।

रामपुर १ स्याउली बजारमा भएको तालिममा सहभागीहरुलाई प्रमाण पत्र तथा सिलाई मेसिन वितरण गर्दैै समापन गरिएको छ । रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले तालिमलाई रोजगारमा रुपान्तरण गर्दै अघि बढ्न आग्रह गर्नुभयो । तालिममा सिकेका सीपको माध्यम बाट आत्मनिर्भर बन्न सकेमा मात्रै तालिम सञ्चालनको औचित्य पुरा हुने बताउनुभयो । उहाँले महिलाहरुलाई उद्यमशिलता तर्फ लाग्न अनुरोध समेत गर्नुभयो । रामपुर १ का वडा सदस्य जीवन मायाँ नेपालीले तालिममा सिकेको ज्ञान मार्फत आत्मनिर्भर बनी समाजमा उदाहरण पेश गर्न शुभकामना दिनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका सूचना प्रविधि अधिकृत महेन्द्र प्रसाद श्रेष्ठ, प्रशिक्षक भगवती वि.क.ले सिकेका सिपको व्यवहारमा लागु गर्न सुझाव दिनुभयो । कार्यक्रममा सहभागीहरुको तर्फ बाट खिम कुमारी नेपालीले तालिम प्रभावकारी भएको बताउँदै व्यवहारमा समेत उतार्ने प्रतिवद्धता जनाउनुभयो ।

तालिममा सहभागी ८ जना महिलाहरु मध्ये ७ जनालाई सिलाई मेशिन प्रदान गरिएको थियो । रामपुर १ का वडा अध्यक्ष कपिल बहादुर खाँणको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमको सञ्चालन उद्यमविकास सहजकर्ता रुपेश बडुवालले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय