पाल्पा, जेठ ११
पाल्पाको तानसेनमा रहेको श्रीनगर डाँडा हरियाली स्वच्छ हावापानी तथा मनोरम प्राकृतिक सुन्दरताका कारण आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने गरेको छ । तर यहि रोजाइको स्थान अहिले तानसेन नगरपालिका र वन उपभोक्ता समिति बिचको विवादको चपेटामा परेको छ ।
तानसेन नगरपालिकाले श्रीनगरको सौन्दर्यीकरणका लागि गर्दै आएको काममा नदिने डिभिजन कार्यालय पाल्पाले रोक लगाएको बताइएको छ । तानसेन नगरपालिकाले श्रीनगरमा निर्माण गर्न थालेको शौचालय डिभिजन वन कार्यालय पाल्पाले वन उपभोक्ता समितिका व्यक्ति लगाएर भत्काइदिएको छ । डिभिजन वन कार्यालयको स्वामित्वमा रहेको श्रीनगर वन तानसेन नगरपालिकाले हस्तक्षेप गर्न खोजेको भन्दै भत्काइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी संयोग बस्नेतले बताएका छन् । श्रीनगरको सौन्दर्यीकरण गर्न तानसेन नगरपालिकाले नपाउने डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । उहाँले भन्नुभयो, “श्रीनगर वन डिभिजन वनअन्तर्गत पर्दछ, यसको संरक्षण र विकासका लागि कार्यालयबाट कामहरू गरिदैआएको छ । यसमा तानसेन नगरपालिकाले संरचना बनाउन पाउँदैन, तानसेन नगरपालिकाको हिम्मत भए सरकारसँग स्वामित्व लेओस् ।”
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बाउबाजेको पालादेखी तानसेन नगरपालिकाले रेखदेख, संरक्षण तथा विकास निर्माणको काम गर्दै आएको श्रीनगरमा उपभोक्ता समिति मार्फत् विवाद सिर्जना गरिने कार्य लज्जास्पद भएको बताए । उनी भन्छन्, श्रीनगरमा आउने पर्यटकलाई शौचालयको आवश्यकताको महसुस गरी तानसेन नगरपालिकाले शौचालय निर्माण गर्न थालेको थियो । तर विकास विरोधि अराजक भीडले काम सुरू भैसकेको अवस्थामा तोडफोड गरिरहँदा समग्र तानसेनकै इज्यतमा दाग लागेको छ ।
तानसेन नगरपालिकाले श्रीनगर क्षेत्रमा रहेका उपभोक्ता समितिहरूलाइ प्रक्रिया नपुगेको भन्दै उठाउँदै आएको राजस्व संकलनमा रोक लगाएपछि विवाद सिर्जना भएको हो । नगरपालिकाले विगत नौ महिनादेखी आँफै कर्मचारी खटाएर दोब्बर राजस्व संकलन गरेको दावी गरेको छ । संघीय सरकार र स्थानीय सरकार बीचको विवादले तानसेनको विकास कार्य अवरूद्द हुँदा यहाँका सरोकारवालाहरू भने गुमनाम बनेका छन् ।
श्रीनगर नेपालकै पर्यटकीय स्थलमध्ये महत्त्वपूर्ण रमणीय वातावरण भएको स्थल मानिन्छ । जहाँ अनगिन्ती पर्यटक घुम्न, रमाइलो गर्न, सुन्दर वातावरण हरियाली डाँडाकाँडा पाखापखेराले भरिभराउ पाल्पा अहिले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनिरहेको छ । तानसेनको अग्लो ठाउँमा रहेको यो क्षेत्रमा मोर्निङवाक गर्ने र साँझमा शीतल खानेहरूको भिड लाग्छ । श्रीनगर वन २००८ देखि रेखदेख र संरक्षण गर्दै आएकोमा २०१६ सालमा तत्कालीन वन मन्त्रालयले तत्कालीन नगर पञ्चायतलाई रेखदेख र संरक्षण गर्ने जिम्मा दिएको थियो । त्यसपछि श्रीनगरमा वृक्षारोपण गरिएको थियो । नगर पञ्चायतले २६ जना वन हेरालु राखेर वनको संरक्षण गर्दैआएको थियो ।
श्रीनगरमा लिफ्टिङ गरेर खानेपानी, विद्युत, गार्डेन, बाल उद्यान, रजत जयन्ती स्तम्भ, श्रीनगर भ्यूटावर, बौद्ध स्तुपा, हनुमान मूर्ति, शौचालय, पिकनिक सेटहरू निर्माण, सडक मर्मत सम्भार कैलाश नगरदेखि श्रीनगर जाने मुख्य सडक पक्की, चौकीघर निर्माण, अतिथि गृह निर्माण यसबाहेक अन्य धेरै संरचना निर्माण तानसेन नगरपालिकाले गर्दै आएको छ । अहिले नगरपालिकाले संरक्षण र रेखदेख गर्ने ६ जना कर्मचारीलाई रोजगारी दिएको छ ।
श्रीनगरमा विदाको दिन पिकनिक खाने घुमफिर गर्नेको भिडनै लाग्छ । सल्लाघारीको सिरसिरे हावा,प्राकृतिक सौन्दर्यता, हिमालका मनोरम दृश्यवालोकन,र श्रीनगरमा निर्माण भएको ९ तले भ्यु टावरबाट तराई पहाड हिमालको दृश्य मजाले हेर्न सकिन्छ । श्रीनगरको डाडामा निर्माण भएको ३२ मिटर अग्लो ९ तले भ्युटावर यहाको प्रमुख आर्कषण हो भने सुन्दर बगैचा,एकान्त बाताबरणले पनि सबैको मन लोभ्याउछ । भ्यू टावरबाट तानसेन बजार, माडीफाट, तराईका समथर भूभाग र बिभिन्न हिमश्रृखंलाले जो कोहीलाई पनि आनन्दित बनाउछ ।