पाल्पा, वैशाख २८
पाल्पा जिल्लाका १० स्थानीय तहका उपप्रमुख/उपाध्यक्षहरुको सम्मिलित उपमेयर्स फोरम पाल्पा गठन गरिएको छ । शुक्रवार तानसेन नगरपालिकामा भएकाे न्यायिक समितिको प्रथम जिल्ला सम्मेलनले तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजाली गाहा मगरको संयोजकत्वमा १० सदस्यीय फोरम गठन गरेको हो ।
फाेरमकाे उपाध्यक्षमा बगनासकाली गाउँपालिकाका हरि प्रसाद पाठकलाई तोकिएको छ । सदस्यहरुमा बालकुमारी थापा रामपुर नगरपालिका, लाल बहादुर थापा तिनाउ गाउँपालिका, तिरण कुमारी श्रेष्ठ निस्दी गाउँपालिका, राधा कुमारी श्रेष्ठ रम्भा गाउँपालिका, विष्णुमाया लुङ्चे माथागढी गाउँपालिका, कान्ता अधिकारी रिब्दीकोट गाउँपालिका, भागिरथी शर्मा भट्टराई पूर्वखोला गाउँपालिका र युवराज थापा रैनादेवी छहरा गाउँपालिका रहेका छन् ।
‘कानुनतः निर्वाह गर्नुपर्ने भुमिकाहरूमा पाल्पा जिल्लाका स्थानीय तहहरूमा एकरूपता, आपसी समन्वय र सिकाइ आदानप्रदानको संयन्त्र निर्माण गरि एकआपसमा उपप्रमुख/उपाध्यक्षलाइ परेका समस्या तथा अप्ठ्याराहरूलाइ कम गर्नका लागि खुल्ला प्रकृतिको साझा फोरम निर्माण गरिएको’ नवगठित फोरमकी संयोजक प्रतिक्षा सिंजाली गाहा मगरले बताउनु भयो ।
‘उपप्रमुख तथा उपाध्यक्षहरूले नेतृत्व गरेका बिषयगत समितीका भूमिकाहरूमा जिल्ला भरीका स्थानीय तहहरूमा एकरूपता ल्याउनका लागि यो फोरम प्रभावकारी हुने’ सिंजालीको तर्क छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका प्रमुख सन्तोसलाल श्रेष्ठले यस्ता खालका फोरमले आपसी सिकाइ आदानप्रदान र रचनात्मक कार्यमा फलदायी हुने बताउनु भयो । उहाँले उपमेयर्स फोरमले कार्यविधि नै बनाएर आफ्ना गतिविधि अगाडी बढाउन समेत सुझाव दिनु भयो । यसका लागी आफ्नो पूर्ण साथ सहयोग र समर्थन रहने समेत बताउनु भयो ।
जिल्ला भरीका न्यायिक समितिका संयोजक तथा सदस्यहरु समेत सहभागी सम्मेलनमा ३ छुट्टा छुट्टै कार्यपत्र प्रश्तुत गरी त्यसमा छलफल गरिएको थियो । पाल्पा जिल्ला अदालतका अधिकृत राम प्रसाद पोखरेलले न्यायिक समितिका क्षेत्राधिकारका विषयमा कार्यपत्र प्रश्तुत गर्दै न्यायिक समितिका कार्यविधिमा एकरुपता ल्याउन जोड दिनु भयो ।
न्यायियक समिति सूचना व्यवस्थापन प्रणाली विकास लगाएतका क्षेत्रमा कार्य गरिरहेको रिनोवेसन नेपालका कार्यकारी निर्देशक राम बाबु नेपालले न्यायिक समितिको कार्यप्रक्रिया, अभिलेखिकण र कार्यन्वन सम्वन्धी कार्यपत्र प्रश्तुत गर्नु भएको थियो । नेपालले न्यायिक समितिका कार्यमा एकरुपता कायम गर्न तथा व्यवस्थित अभेलेखिकरणका लागी सूचना व्यव्स्थापन प्रणाली सफ्ट्वेरको प्रयोगले सहजता हुने समेत बताउनु भयो ।
अधिवक्ता सुमन न्यौपानेले उपप्रमुख तथा उपाध्यक्षहरुको भूमिका सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । ‘उपाध्यक्ष/उपप्रमुखहरुले स्थानीय तहको बजेट तथा कार्यक्रम तर्जुमा, योजना तथा कार्यक्रमको अनुगमन र सुपरीवेक्षण, राजस्व सम्बन्धी नीतिगत परामर्श, उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन, गैरसरकारी संघसंस्था समन्वय, अपांगता भएका व्यक्तिहरूको हक हित संरक्षण र न्यायिक कार्यसम्पादन जस्ता महत्वपूर्ण कार्यहरूको नेतृत्व गरिरहेको सन्दर्भमा उहाँहरुको क्षमता विकासमा जोड दिनु पर्ने’ बताउनु भयो ।
कार्यक्रममा द एसिया फाउण्डेसनका प्रदेश संयोजक चुरामणी पोखरेलले स्थानीय सरकार सवलिकरणमा उपप्रमुखहरुको भूमिकालाई प्रभावकारी बनाउन जरुरी रहेको बताउनु भयो । उपमेयर्स फोरमको नियमित बैठक अलग अलग पालिकामा निरन्तर रुपमा बस्ने बताइएको छ । हरेक बैठकमा विभिन्न सवालमा छलफल, साझा धारणा निर्माण तथा बिज्ञहरुसंगको छलफल तथा अन्तरक्रिया गर्ने बताइएको छ ।