पाल्पा, चैत २९

तानसेन नगरपालिका वडा नं २ मा रहेको महेन्द्र बोधि मा.वि.(एमबिएस स्कूल)ले कक्षागत सिट सङ्ख्या निर्धारण गरेको छ । कक्षा नर्सरीदेखि कक्षा १०सम्म प्रतिकक्षा ३० जना र कक्षा ११, १२ मा प्रतिकक्षा ५० जना विद्यार्थी सिटसंख्या निर्धारण गरेको हो ।
“एउटा मोटरसाइकलमा त दुईजना भन्दा धेरै बसेमा ट्राफिकले जरिवाना लिन्छ । बसको समेत निश्चित सिट संख्या निर्धारण गरिएको हुन्छ । विद्यालय त राष्ट्रका कर्णधार उत्पादन गर्ने थलो हो । एउटै बेन्चमा जथाभाबी विद्यार्थी कोंचेर राख्दा विद्यार्थीको व्यक्तित्व विकासमा बाधा पुग्छ । त्यसैले पनि विद्यालयको कक्षाकोठाको क्षमता हेरेर कक्षागत सिट सङ्ख्या निर्धारण गरेका हौं ।”–विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुशीला श्रेष्ठले बताउनु भयो । विद्यालयमा सिट सङ्ख्या निर्धारण गर्ने मात्रै होइन कि विद्यालयले आगामी बर्ष नमूना विद्यालयको रुपमा अगाडि बढाउन कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
विद्यालयले शुक्रबारलाई बुक फ्रि फ्राइडेको रुपमा विविध कार्यक्रम गर्ने भएको छ । निजामती कर्मचारी, सुरक्षा कर्मी, जनप्रतिनिधि, शिक्षकका छोराछोरीका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्यालय खोलेर विविध कार्यक्रम सहितको योजना समेत ल्याएको छ । विद्यालयले बिहान नियमित ९ बजे खोलेर १० बजेसम्म विद्यार्थीका लागि रिले रिडिङ, रिले राइटिङ, रिले स्पिकिङको कार्यक्रम ल्याएको हो ।
विद्यालयले विद्यार्थीको नेमप्लेट समेत राख्ने भएको छ । आगामी बर्ष विद्यालयले अनुशासन र शान्तिका लागि बौद्ध शिक्षा कार्यक्रम सञ्चालन गर्ने, बालमैत्री वातावरणमा मुस्कान सहितको विद्यालय प्रवेश, संगीत र पिटी सहितको प्रार्थना कार्यक्रम सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक केशव के.सी.ले बताउनु भयो । त्यस्तै, नेपालकै पहिलो सामाजिक प्रयोगशालामा सामाजिक विषय सिकाइ सहजीकरण हुने, शिक्षक र विद्यार्थीका लागि शैक्षिक सामग्री निर्माण कक्षको व्यवस्था गरिएको, सबै विद्यार्थीको पोर्टफोलियोमा प्रत्येक हप्ता प्रत्येक विषयको प्रोजेक्टवर्क र विद्यार्थीको प्रतिभालाई रेकर्ड राख्ने व्यवस्था भएको सहायक प्रधानाध्यापक हरिलाल गैरेले बताउनु भयो ।
विद्यालयले कक्षाकोठामै प्रविधिमैत्री शिक्षालाई जोड दिइने, हरेक पर्व र विदाका बेला विविध कार्यक्रम गरी विद्यार्थीको संस्कार र संस्कृतिको जगेर्ना गर्ने खालका कार्यक्रम समावेश गर्दै बिदा कम हुने विद्यालयको रुपमा स्थापित गरिने, पहिले भन्दा नतिजामा सुधार गरेमा पुरस्कृत गरी विद्यार्थीको आपूmसँग आफ्नै प्रतिस्पर्धा गराइने, पठन सिपको विकास गर्न लाइब्रेरीको भरपुर उपयोग गरिने, उत्कृष्ट विज्ञान प्रयोगशालामै विज्ञान विषय गर्दै सिक्दै कार्यक्रम लागु गरिने, प्रत्येक कक्षामा बुक कर्नर, सबैभन्दा बढी विद्यालयलाई समय दिने शिक्षक र अभिभावकलाई सम्मान गर्ने योजना समेत विद्यालयले सार्वजनिक गरेको छ ।
विद्यालयले उत्कृष्ट नतिजा दिने शिक्षकलाई कक्षागत रुपमै वार्षिकोत्सवमा सम्मान गरिने, विद्यार्थी भलाईकोष दान पेटिका मार्फत विद्यार्थी प्रतिभा पुरस्कार प्रदान गरिने, अभिभावकसँग सम्पर्क कायम गर्न फोन डायरी कार्यक्रम, टोल भिजिट कार्यक्रम, अभिभावक शिक्षा लगायतका कार्यक्रम समावेश गरी विद्यालयलाई नमूना विद्यालयको रुपमा अगाडि बढाउने छ ।
स्मरण रहोस्, कक्षा नर्सरीदेखि कक्षा १०सम्म पूर्ण अंग्रेजी माध्यममा सञ्चालित यस विद्यालयमा चौथो ब्याचले अंग्रेजी माध्यमबाट एस.ई.ई. परीक्षा दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय