पाल्पा, चैत १२

ढाकाको राजधानी पाल्पामा दाेस्राे पटक पाल्पाली ढाका दिवस मनाइएको छ । पाल्पालाई २०७८ चैत १२ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढाकाको राजधानीको रुपमा घोषणा गरेको थियो । साेही अवसरमा हरेक वर्ष चैत १२ गते पाल्पाली ढाका दिवस मनाउन थालिएको हो ।

पाल्पाली ढाका संघले सोमबार तानसेनमा दोस्रो ढाका दिवस मनाएको हो । साेही अवसरमा प्रतिनिधि सभाका सांसद ठाकुुर गैरेले नेपाल तथा विदेशमा उच्च ब्राण्डकाे छवि बनाएकाे पाल्पाली ढाकालाई ब्राण्डिङसँगै विविधिकरण गर्दै लैजानुपर्ने बताए । उनले गुणस्तरीय काम गर्ने र लगावपूर्ण तरिकाबाट काम गर्ने हाे भने विदेशमा पैसा खाेज्न जानु नपर्ने बताउँदै लक्षित समुदायकाे मुख्य पेशा ढाका बुन्ने भएर पनि राेजिराेटीमा कुनै समस्या नहुने गरेकाे बताए ।

लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले लुम्बिनी प्रदेश सरकारले पाल्पाली ढाका र करुवाको संरक्षणमा पनि याेजना बनाएर काम गरेको बताउँदै उद्यमी प्रोत्साहनका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । सांसद रानाले ढाका पाल्पामा उत्पादन गरेको भन्ने तर बिच बिचमा बाहिरबाट ल्याएर विक्री गर्ने गरेको भन्ने गुनासो आउने गरेकाले त्यसतर्फ सचेत हुुन उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे ।

तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले ढाका उद्योग तथा उद्यमीकाे प्रोत्साहन गर्ने कार्यक्रम रहेकाे भन्दै यहाँका परम्परागत सीपकाे जगेर्ना तथा नयाँ प्रविधि हस्तान्तरणमा तानसेन नगर सरकार लागि परेकाे बताए । पाल्पाली ढाका उत्पादक सहकारी संस्थाका उपाध्यक्ष  हरि रायमाझीले पाल्पाली ढाकाको नाममा गणेशमान महर्जनको नाम जोडिएको बताए । रायमाझीले ३ /४ सय जनालाई तालिम दिएर अहिले व्यवसायिक रुपमा  लागेको बताए ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भटराई, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याल, घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका अधिकृत थमन सारु, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पाल्पामै बनेकाे ढाका बेचेर पाल्पाली ढाकाको इतिहास र गरिमालाई जोगाइराख्न स्थानीय उद्यमीलाइ अनुराेध गरे ।

कार्य्रकम ढाका संघका अध्यक्ष पूर्णमाया महर्जनको अध्यक्षता, कार्यक्रम संयोजक सागरमान महर्जनको स्वागत सचिव मनोज पौड्यालको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय