काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा केशरजंग बराल नियुक्त भएका छन् ।
बराललाई त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नियुक्ति पत्र दिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति बराल सिफारिसमा भने दोस्रो नम्बरमा थिए ।

को हुन् बराल ?
२०१४ सालमा पाल्पामा जन्मिएका बराल २०३९ सालदेखि नेपालको उच्च शिक्षामा सक्रिय रहेका छन् । उनले २०३९ सालमा विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेसा सुरु गरेका थिए । त्यसपछि उनी २०४१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा सरुवा भएर आए ।

पृथ्वीनारायण क्याम्पसमा पढाउँदै गर्दा उनी विश्वविद्यालयको वृत्ति विकास कार्यक्रम अन्तर्गत छात्रवृत्तिमा पढ्न बाहिर जाने मौका पाए । उनी २०५० सालमा विद्यावारिधि अध्ययनका लागि भारतको दिल्ली युनिभर्सिटीमा भर्ना भए । र उनले विद्यावारिधिको अध्ययन समयमै सकाए । अर्थात् २०५४ सालमा उनले पढाई सकाए । यसैगरी २०५५ सालमा दिल्ली युनिभर्सिटीले उनलाई विद्यावावारिधी (पीएचडी) को उपाधि प्रदान गर्‍यो ।

भारतमा अध्ययन सकेर नेपाल फर्केका बरालले विश्व बैंकको हायर एजुकेसन (उच्च शिक्षा) भन्ने प्रोजेक्टमा कन्सल्टेन्ट भएर काम गर्ने मौका पाए । उनले पोखरा क्याम्पसमै हुँदै उक्त मौका पाएका थिए । त्यसपछि उनले एसियन डेभ्लपमेन्ट बैंकको प्रोजेक्टमा फाइनान्स एडभाइजर भएर समेत काम गरे । त्यहाँ उनले साढे तीन वर्ष काम गरेका थिए । त्यसपछि उनी पुनः क्याम्पसमै फर्केर अध्यापनतिर लागे ।

क्याम्पसमा उनी वित्त शास्त्रको विभागीय प्रमुख भएर काम गरे । त्योसँगै उनले अनुसन्धान विभागको पनि प्रमुख भएर काम गरे । त्यही बेला उनी व्यवस्थापन संकायको वित्तशास्त्र विशेष समितिको सदस्य समेत भए । र पछि त्यसको स्थायी समितिको सदस्य भएर काम गरे ।

त्यसपछि उनी त्रिभुवन विश्वविद्यालयको विद्या परिषद्को फेकल्टी बोर्डका सदस्यमा नियुक्त भए ।

पोखरामा स्थापना हुने चर्चामा रहेको पोखरा विश्वविद्यालयको सुरुवाती समयदेखि नै उनी सक्रिय थिए । पोखरा विश्वविद्यालयको स्थापनाकालदेखि नै उनी व्यवस्थापन विशेष समितिको सदस्य भएर काम गरे ।
त्यसपछि २०६४ सालमा सरकारले उनलाई पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्‍यो । र उनले चार वर्षे कार्यकाल सम्पन्न गरेर २०६८ सालमा बिदा भए । पोखरा विश्वविद्यालयको भिसी भएर आफ्नो कार्यकाल पुरा गरेसँगै उनी पुनः त्रिभुवन विश्वविद्यालयमै फर्किए । त्यसपछि उनी अमेरिका गए । अमेरिकामा उनी पढाउन गएका थिए । र २०६४ सालमा नेपाल फर्किए र त्रिविमा पढाउन थाले ।

२०६४ देखि २०६८ सालमा विश्वविद्यालय अनुदान आयोगको बोर्ड मेम्बर पनि भएर काम गरे । त्रिविको व्यवस्थापन संकायको अनुसन्धान समितिको सदस्य भएर काम गरे । त्यसपछि २०६९ सालमा उनी भिजिटर प्रोफेसरको रूपमा पढाउन चीन गए । त्यहाँ एक वर्ष पढाए । र त्यसपछि नेपाल फर्किए । नेपाल फर्केर त्रिविमा नै पढाउन थाले र २०७७ सालमा त्रिविबाट सेवानिवृत्त भए ।

सरकारले गठन गरेका विभिन्न आयोग तथा समितिमा समेत रहेका काम गरेको अनुभव बरालसँग छ । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयबिच विवाद बढेको थियो । उक्त विवाद समाधान गर्न शिक्षा मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको थियो । बरालले उक्त समिति समस्या भएर समेत काम गरे ।

अहिले उनी विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्मा विशेषज्ञको रूपमा काम गर्दै आएका छन् । साढे दुई वर्षदेखि उनी विज्ञको रूपमा काम गर्दै आएका हुन् ।
उनले अहिले त्रिविको व्यवस्थापन संकायको पीएचडीका विद्यार्थीलाई पढाउँदै आएका छन् । त्यस्तै पोखरा विश्वविद्यालयका पीएचडीका विद्यार्थीलाई समेत सहजीकरण गर्दै आएका छन् । २०३९ सालदेखि नेपालको उच्च शिक्षामा निरन्तर सक्रिय रहेका उनी कुनै पनि निजी क्याम्पसमा भने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय