पाल्पा, फागुन ७
पाल्पाकाे तानसेनमा आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म तानसेन महोत्सव हुने भएको छ । तानसेन नगरपालिकाको आयोजनामा हुने महोत्सवमा पाल्पा र तानसेनलाई चिनाउने गरी कृषि, रोजगार, पर्यटन, उद्योग र व्यापार महोत्सव गर्न लागिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले महोत्सवमा पाल्पा र नगरभित्र उत्पादित कृषि तथा घरेलु उद्योगका मात्रै ५० स्टल रहने जानकारी दिनुभयो । कुल ३०० वटा स्टल महोत्सवमा राखिनेछ ।
महोत्सवबाट तानसेन नगरपालिकाको आन्तरिक राजश्वमा बृद्धि हुने र त्यसले तानसेनको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयाे । उहाँले राजश्व वृद्धि भए विभिन्न निकायबाट हुने सहयाेगमा समेत बढ्ने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
विगतमा विभिन्न संघसंस्थासँगको सहकार्यमा नगरपालिकाले महोत्सव गरेकोमा यो वर्ष नगरपालिकाले पहिलो पटक आफैँ महोत्सव गर्न लागेको नगरका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिनुभयो । महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, स्थानीय स्तरमन कलाकारहरुको नृत्य प्रतियोगिता, झाँकी प्रतियोगिता हुने उहाँले बताउनुभयो ।
नगरपालिकाले महोत्सव गरेर व्यापार गर्न लागेको भन्ने पत्रकारहरुको जिज्ञासामा नगर प्रमुख श्रेष्ठले त्यसलाइ अस्वीकार गर्नुभयाे । उहाँले पाल्पामा आर्थिक चलायमानमा गराउन नगरपालिकाले महोत्सवको आयोजना गरेको बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले महोत्सवबाट पाल्पाको पर्यटन, कृषि, व्यापार तथा घरेलु उद्योगमा टेवा पुग्ने विस्वास गर्नुभयो । उहाँले भन्नुभयो, नगरपालिकाले महोत्सव गर्न मिल्दैन भन्ने कही पनि लेखेको छैन, महोत्सव र व्यापार प्रवद्र्धनका कार्यक्रम गर्न पाउनु नगरपालिकाको अधिकार हो । संविधान र स्थानीय सरकार संचालन ऐन अनुसार महोत्सव गर्नु जायज भएको ज्ञवालीको भनाई छ ।
महाेत्सवबाट ६१ लाख बढी बचत गर्ने नगरपालिकाकाे याेजना रहेकाे छ । महोत्सवमा पत्रकारहरूले अन्य बेलाको भन्दा मेला पृथक हुनुपर्नेमा जोड दिएका थिए । व्यापारिक संघसंस्थाले गरेका मेला महोत्सव नगरपालिकाले गर्न आँट गर्नु सुखद् पक्ष भएपनि महोत्सवलाई नयाँपन दिनुपर्नेमा पत्रकारहरुले जोड थियाे ।