धातानन्द शर्मा गैरे
पाल्पा, माघ १४
धवल पुस्तकालय पाल्पाको आयोजनामा पाल्पाली साहिहत्यकार आर. बि. निश्चलको छैठौं एकल कृति ‘उल्टो धार’ को लोकार्पण प्रमुख अतिथि वरिष्ठ गजलकार बूँद रानाबाट सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बूँद रानाले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभयो ।
प्रमुख अतिथि बूँद रानाले कृति प्रकाशनका लागि कृतिकारलाई बधाई दिँदै कृतिकारबाट भविष्यमा अझ सशक्त कृतिहरु अविरल आइरहून् भन्ने शुभकामना दिनुभयो । अहिले देशको समग्र परिस्थिति उल्टो गतितर्फ उन्मुख भइरहेको छ भन्दै साहित्यकारहरुलाई यस विरुद्ध आवाज बुलन्द गर्न आह्वान गर्नुभयो । उहाँले आफ्ना केही समसामयिक र चाोटिला गजल पनि वाचन गर्नुभयो ।
लोकार्पित कृति उल्टो धारका समीक्षक आख्यानकार, समालोचक डा. शंकरप्रसाद गैरेले कृतिको समग्र पक्षको गहन समीक्षा गर्दै कविताको अभिधार्थ, लक्ष्यार्थको संकेतले बताए अनुसार कृतिको ‘उल्टो धार’ शीर्षकको सार्थकताको चर्चा गर्नुभयो । पाल्पाको समकालीन साहित्यको सन्दर्भमा गद्यकवितातर्फ उहाँको कसैसंग प्रतिस्पर्धा नभएको भन्दै उहाँका आफ्नै कृतिहरुसंग नै उहाँको प्रतिस्पर्धा भएको विचार उहाँले राख्नुभयो । उहाँका यस अघिका कृतिहरु उत्कृष्ठ हुँदाहुँदै पनि उहाँको यो कृति सबै दृष्टिकोणले अत्यन्तै खारिएर आएको विचार उहाँको थियो । २०६० सालसम्म राज्यको प्रकाशन गृह साझा प्रकाशनले प्रकाशन गरेका कृतिको जुन महत्त्व थियो त्यो आज नभएको र आज निजी प्रकाशन संस्थाहरु गुणस्तरीय प्रकाशनको क्षेत्रमा निकै अगाडि छन् अन्नुभयो । प्रतिष्ठित प्रकाशन गृहले अति महत्त्व दिएर यो कृति प्रकाशन हुनुले कृति ओजिलो छ भन्ने मान्यता स्थापित गरेको छ उहाँले भन्नुभयो ।
कृतिको बाह्यस्वरुप निकै आकर्षक र लोभलाग्दो रहेको छ । समकालीन समयका प्रतिष्ठित कविहरुमध्ये कवि आर. बि. निश्चलको प्रसिद्धि उच्च रहेको छ । उल्टो धारसम्म कवि आइपुग्दा अघिल्ला कृतिहरुमा पुनरावृत्त हुने गरेको बिम्ब र प्रतिकहरुको पुनरावृत्ति पूर्णतया रोकिएको र कविताहरुमा नवीन र मौलिक बिम्ब, प्रतिकहरुको प्रयोग भएका छन् । उहाँ सबाल्टर्नलाई बल दिने कवि भएको विचारहरु उहाँले राख्नुभएको थियो ।
गाउँदे देउराली साप्ताहिकका प्रधान सम्पादक साहित्यकार रामप्रसाद अर्यालले कविलाई बधाई दिँदै उल्टोधार शीर्षकले देशको वर्तमान अवस्था बोलेको र हाल देशको सबै परिस्थिति उल्टो दिशातर्फ उन्मुख रहेको आफूलाई पनि लागेको छ भन्नुभयो । निश्चलका कृतिमा बिम्ब र प्रतिक सशक्त रहेको विचार उहाँको थियो ।
कृतिकार आर. बि. निश्चलले आफूलाई साहित्य सिर्जनामा अगाडि बढ्न मिलेका प्रेरणाबारे प्रकाश पार्दै कृति प्रकाशन र कृति लोकार्पण कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिनुभयो । उहाँले आफ्नो कृतिभित्रको आह्वान शीर्षकको कविता वाचन गर्नुभयो ।
कवि महेन्द्र पन्थीले कृतिकारलाई निरन्तर सिर्जनशीलताको शुभकामना दिँदै लोकार्पित कृतिबाट सबाल्टर्न चेनतासम्बन्धी कविता वाचन गर्नुभयो ।
साहित्यकार तिलक लामिछानेले कृतिकारलाई कृतिकालागि बधाई दिँदै रगतका फूलहरु शीर्षकको कविता पनि वाचन गर्नुभयो ।
नारी स्रष्टा साहित्यकार तथा सञ्चारकर्मी मन गहिरेले कृति कालजयी बन्न सकोस् भन्दै कृतिकारलाई शुभकामना दिनुभयो ।
कवि आयाम कार्की तथा कृतिकारका भाइ विष्णुले विमोचित कृतिभित्रबाट कविता वाचन गर्नुभएको थियो ।
कार्यत्र,मका अध्यक्ष धवल पुस्तकालय सञ्चालक समितिका अध्यक्ष कवि युवराज पौडेलले आर. बि. निश्चलले आफ्ना ३ ओटा कृतिको लोकार्पण धवल पुस्तकालयबाटै गराउनु भएकोमा उहाँलाई धन्यवाद दिनुभयो । निश्चलको लेखनी निरन्तर चलिरहोस् भन्ने शुभकामना दिँदै धवल पुस्तकालयमा पुस्तक पढ्ने मात्र नभई यहाँबाट कृति प्रकाशन, विमोचन तथा कृति विमर्शका कार्यहरु पनि हुने जानकारी गराउनुभयो ।
कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै धवल पुस्तकालय सञ्चालक समितिका सचिव वरिष्ठ साहित्यकार टंकप्रसाद पन्थले कवि आर. बि. निश्चलको व्यक्तित्त्व तथा कृतित्त्वमाथि प्रकाश पानुभएको थियो । कार्यक्रमको सञ्चालन धवल पुस्तकालयका महासचिव राजेशकुमार अर्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय