पाल्पा, मंसिर २४

श्रीनगर सांस्कृतिक डबली तानसेन नगरपालिका मार्फत् सञ्चालन हुने भएकाे छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा तानसेनको कैलाशनगरमा बनेकाे  ‘श्रीनगर सांस्कृतिक डबली’ तानसेन नगर सरकारलाई हस्तान्तरण भएसँगै नगरपालिकाले यसकाे सञ्चालन तथा व्यवस्थापन गर्ने भएकाे हाे ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक कार्यक्रमका बीच श्रीनगर सांस्कृतिक डबलीको चाबी तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । चाबी हस्तान्तरण गर्दै मुख्यमन्त्री चौधरीले तानसेनको कलासंस्कृति र पर्यटनको संरक्षण तथा प्रवर्दन गर्न डबलीले इट्टा थपेकाे बताए । उनी भन्छन्, तानसेन आफैमा पर्यटकीयस्थल भए पनि यसकाे ब्राण्डिङ तथा प्रवर्दन गर्नु अावश्यक रहेकाे बताए । साे अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले स्थानीय सरकार र प्रदेश सरकारकाे सहकार्य निरन्तरता जरूरी रहेकाे बताए ।

नगर प्रमुख सन्तोषलाल श्रेष्ठले प्रदेश सरकारले दिएको जिम्मेवारीलाई स्थानीय सरकारले प्रथामिकताका साथ अगाडि बढाउने बताए । कार्यक्रममा संविधान सभा सदस्य नारायणी शर्मा, लुम्बिनी प्रदेश सांसद एवं पूर्व मन्त्री वीरबहादुर राना, प्रदेश सांसद खेमबहादुर सारु लगायतले ठूलो लगानीमा संरचनाहरु निर्माण भएकाले सोही अनुसार त्यसको संरक्षण गरी आयआर्जन सँग जोड्नुपर्नेमा जोड दिए । प्रदेश खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद भण्डारीले रेखदेखको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारलाई दिए पनि प्रदेश सरकारबाट आवश्यक सहयोग रहने बताए ।

पर्यटन डिभिजन कार्यालय रुपन्देहीकी प्रमुख गीता आचार्यले २०७६ असार ८ गते सुुरु भई २०७९ असार ८ मा सम्पन्न गर्ने गरी काम भएकोमा बिचमा केही ढिलाई  भएको बताईन् । उनले डबली निर्माणका लागि ६ करोड ८२ लाख ५६ हजार खर्च भइसकेको जानकारी गराईन् । यहाँका विभिन्न जातजाति, समुदायका कला र संस्कृति प्रदर्शन गर्नुको साथै पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले यहाँ डबलीको निर्माण गरिएको हो ।

डबली हस्तान्तरण कार्यक्रम नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता, उपप्रमुख प्रतिक्षा सिंजालीको स्वागत, प्रवक्ता यादवसिंह कार्कीको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय