१५ मंसिर
नेतृत्व मिडिया प्रालिद्धारा प्रकाशनमा आएको नेतृत्व त्रैमासिक पत्रिकाको नयाँ अंक बजारमा आएको छ । बिहिबार रम्भा गाउँपालिकाको आतिथ्यता र सहयोगमा नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको लोकार्पण भएसंगै बजारमा आएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुखटंकनाथ खनालले नेतृत्व पत्रिकाले इतिहासदेखि नेतृत्वको मर्मलाई पछ्याउँदै आएको विचार व्यक्त गर्नुभयो । उहाँले नेतृत्व गर्नेहरूलाई पनि पथप्रदर्शन गर्ने काम नेतृत्व र मूलतः गोविन्द भट्टराईले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । नेतृत्व पत्रिकाले आफूलाई समेत लेख्न प्रेरित गरेको उहाँले बताउनुभयो ।
पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले छापा मिडियाको महत्त्व घट्दै गएको अवस्थामा पनि गोविन्द सरले पत्रिकालाई निरन्तरता दिएकोमा बधाई प्रकट गर्नुभयो । वास्तवमै श्रमजीवीको पहिचानलाई गोविन्द भट्टराई सरले प्रस्तुत गरेको सन्दर्भ पनि उहाँले जोड्नुभयो । अध्यक्ष रानाले पत्रिका वास्तवमै अभिलेखका रूपमा रहने विचार उहाँले प्रस्तुत गर्नुभयो ।
पत्रिकामाथि समीक्षात्मक टिप्पणी डा। टंकप्रसाद पन्थबाट गर्नुभयो । पत्रिकाले विविध प्रकृतिका सामग्रीहरू समेटेको र खोजमूलक सामग्रीहरू रहेको उल्लेख गर्दै पन्थले विभिन्न सङ्घर्ष र अनुभवबाट खारिएर सफल बनेका व्यक्तिका कथाहरू पत्रिकामा समेटिएको बताउनुभयो । विविधतालाई समेट्नु अनि सबै क्षेत्रलाई समावेश गर्नु पत्रिकाको विशेषता रहेको उहाँको टिप्पणी थियो।
प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले नेतृत्वसँग सँगसँगै हिँडेको अनुभूति भएको सन्दर्भ उल्लेख गर्नुभयो । उहाँले पालिकाको आतिथ्यता र सहयोग सबै पत्रकारहरूका लागि नै महत्त्वपूर्ण रहेको कुरा व्यक्त गर्नुभयो । उपाध्यक्ष अर्यालले पालिकाले गरेका राम्रा कामहरूलाई आफूहरूले प्रकाशमा ल्याएको कुरा पनि व्यक्त गर्नुभयो ।
गाउँले देउरालीका सम्पादक रामप्रसाद अर्यालले नेतृत्वले ल्याएका सामग्रीहरू पठनीय रहेको र गाउँको विकासलाई लक्षित गरिएको कुरा व्यक्त गर्नुभयो ।
उपप्राध्यापक सन्तोष खनालले नेतृत्व पत्रिकाको सफलताको शुभकामना व्यक्त गर्दै वर्तमानको आर्थिक अवस्थाको झलक प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा प्रथमपटक लेख प्रकाशित गर्ने गजलकार अनिपाल कार्की र साहित्यकार गणेश नेपालीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले गर्नुभएको थियो । अध्यक्ष भण्डारीले कार्यक्रमको आयोजना र आगमनप्रति आफू कृतज्ञ रहेको विचार उहाँले प्रस्तुत गर्नुभयो । उहाँले आफ्ना कुरालाई मुखरित गराउनमा पत्रकार मित्रहरूको सहयोग महत्त्वपूर्ण रहेको मर्म प्रस्तुत गर्नुभयो । कालीगण्डकी करिडोरले त्यस क्षेत्रका जनताको जीवन कायापलट भएको यथार्थलाई उहाँले झल्काउनुभयो । आफूले यस क्षेत्रको विकासमा विगतदेखि देखेका सपनाहरू पूरा हुँदै गएको कुरा दृष्टान्तसहित प्रस्तुत गर्नुभयो । उहाँले स्वास्थ्य परीक्षणका प्रयोगशाला निर्माण र निशुल्क सेवा प्रवाह गर्ने काम पूरा भएकोमा सन्तुष्टि व्यक्त गर्नुभयो । नसर्ने रोगले देश आक्रान्त भएको अवस्थालाई उहाँले सङ्केत गर्नुभयो । पालिका अध्यक्ष भण्डारीले जनताको महत्त्वपूर्ण सरोकार शिक्षा र स्वास्थ्य क्षेत्र रहेकोले यसक्षेत्रमा संवेदनशील भएर लागेको कुरालाई जोड दिनुभयो ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले गर्नुभयो । भने कार्यक्रमको सञ्चालन नेतृत्व त्रैमासिक पत्रिकाका सम्पादक गोविन्द भट्टराईले गर्नुभएको थियो ।