पाल्पाको  रिब्दीकोट गाउँपालिका ७ पालुङमैनादीमा सुन्तला महोत्सव हुने भएकाे छ । सुन्तलाको बजार प्रबद्र्धन गर्न जिल्लामा पहिलो पटक सुन्तला महोत्सव हुने भएको हाे ।

सुन्तला महोत्सवको बारेमा रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले स्थानीय स्तरमा सुन्तला खेती गर्ने कृषकको उत्पादनको बजारीकरण, व्यवसायिकीकरण र सुन्तलाको विविधकरणमा सहयोग गर्न महोत्सव आयोजना गरिएको भन्दै जानकारी दिनुभयो । वडा कार्यालयको आयोजना तथा मैनादी कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापनमा हुन लागेको महोत्सवमा सुन्तलाको बजार प्रवद्र्धन र कृषकलाई प्रोत्साहन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको रिव्दीकोट– ७ नं वडाका वडाध्यक्ष दानबहादुर कुँवरले बताउनुभयाे । पालुङ्मैनादीमा मात्र करिब २ सय घरधुरीले कृषि पेशा अन्तरगत नगदेबालीका रुपमा सुन्तला खेतीलाई मुख्य आम्दानीका रुपमा खेती गर्दै आएका वडाध्यक्ष कँवरको भनाइ छ ।

 

पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले सबैको सहयोगबाट महोत्सव सफल हुने बताउनुभयो । उहाँले सुन्तला खेती गर्ने कृषकलाई हौसला प्रदान गर्न महोत्सव सफल बन्ने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले नयाँ सोच अनुसार कृषकहरुलाई कृषि पेशालाई निरन्तरता दिने र नयाँ कृषकहरु थपिने वातावरण बनाउन महोत्सव आयोजना गरिएको बताउनुभयो । यसका साथै उहाँले सुन्तला खेतीको प्रचारप्रसार, प्रविधि प्रदर्शन, भण्डारन र प्रशोधन सहित बजारीकरणमा महोत्सव सहयोगी बन्ने बताउनुभयो ।

 

सुन्तला जात फलफूल विकास केन्द्र पाल्पाका प्रमुख दीपक भट्टराईले सुन्तला महोत्सवमा सुन्तला उत्पादन बढाउन र व्यावसायिक बनाउन प्राविधिक ज्ञान आवश्यक पर्ने भन्दै सो बारेमा विभिन्न प्राविधिक पक्षमा जानकारी गराइ किसानलाई प्रोत्साहित गरिने उहाँले बताउनुभयो । विभिन्न शीर्षकका १० वटा स्टल रहने छ  ७ नंं वडाको १ लाख ५० हजार रुपैयाँ र अपुग खर्च रकम गाउँपालिकाबाट सहयोग हुने गरी महोत्सव सञ्चालनको तयारी भएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले महोत्सवमा कृषकहरुको अपनत्व, उत्पादनको बजारीकरणसंगै उचित मूल्य सुनिश्चित हुने गरी सञ्चालन गर्न सुझाएका थिए ।पत्रकार सम्मेलन गाउँपालिकाका सूचना अधिकारी तथा प्रशासन अधिकृत रुकलाल भट्टराईको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय