धातानन्द शर्मा गैरे
पाल्पा २०८० मंसिर १०
धवल पुस्तकालय पाल्पाको आयोजनामा साहित्यकार विनोद नेपालको नियात्रासङ्ग्रह “ससुरालीदेखि सुस्तासम्म” एक कार्यक्रमका बिच विमोचन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले पानसमा बत्ती बाली कार्यक्रमको समुद्घाटन गर्नुभयो । लगत्तै मञ्चासीन अतिथिगणद्वारा सामूहिकरुपमा कृति विमोचन गर्नुृभएको थियो ।
कृतिमाथि समीक्षा गर्दै समीक्षक आख्यानकार तथा समालोचक डा. शंकरप्रसाद गैरेले लेखकका लागि आफ्नो पुस्तक प्रकाशन हुनु र सन्तान जन्मिनु उस्तै महत्व र सुखद अनुभूति हुने विचार राख्नुभयो । पाल्पाको माडी पोखराथोकमा आफ्नो पैत्रिक घर भए तापनि हाल काठमाण्डौमा बस्दै आउनुभएका लेखकले पाल्पामा कृति विमोचन गर्नु उहाँको जन्मभूमिप्रतिको आत्मीयता हो भन्नुभयो । कृति समीक्षाको क्रममा उहाँले कृतिमा समाविष्ट विषयवस्तुले लामा यात्राहरु मात्र नभई छोटा यात्राहरु पनि महत्त्वपूर्ण हुन्छन् भन्ने सन्देश दिएको छ भन्नुभयो । यात्राप्रतिको मोह झल्किने र मान्छेको संवेदनालाई छुने विषयवस्तुलाई गहिराईमा तथ्य प्रमाणसहित कृतिमा प्रस्तुत गरिएको चर्चा गर्दै यसले साहित्यानुरागीहरुलाई पढ्नमा आनन्द दिनुका साथै धेरै जानकारीहरु पनि दिन सक्ने विचार राख्दै कृतिको विहंगम समीक्षा गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि चोलेश्वर शर्माले लेखकसंगको आफ्नो परिचय पुरानो रहेको स्मरण गर्दै लगभग आधा शताब्दीदेखि उहाँ साहित्य साधनारत रहेको र यो चानचुने कुरा नभएको विचार राख्नुभयो । उहाँले विनोद नेपाल साहित्य साधकमात्र नभई अरुलाई साहित्य साधनामा लाग्न प्रेरित गर्ने व्यक्तित्त्व पनि रहेको जिकिर गर्नुभयो । यात्रा वृतान्तमा “म” तत्त्व थपिएर नियात्रा बन्ने विचार राख्दै यो नियात्रा कृति खारिएको, माझिएको र देशको एउटा सचेत नागरिकका अभिव्यक्ति यस कृतिभित्र रहेको धारणा उहाँको थियो । उहाँले स्रष्टालाई बधाई ज्ञापन गर्दै भविष्यमा उहाँका अझ गहन र परिस्कृत कृतिहरु समाजले पढ्न पाओस् भन्ने शुभकामना दिनुभयो ।
त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले कृतिकार यही क्याम्पसको पूर्व विद्यार्थी भएको नाताले संस्थागतरुपमा कृतिकारलाई कृतिका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । यस क्याम्पसले देशका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने दक्ष जनशक्ति उत्पादन गर्न सकेकोमा खुसी व्यक्त गर्नुभयो ।
कृतिकार विनोद नेपालले पाल्पाले आफूलाई अक्षर चिनाएको, त्रिभुवन क्याम्पसले उच्च शिक्षा दिएकै कारण आफू यहाँसम्म आउन सकेको विचार राख्नुभयो । आफूले विद्यार्थी जीवनदेखि नै पत्र पत्रिकाहरु किनेर पढ्ने, कविता, कथा, लेख, रचनाहरु लेख्ने र रेडियो तथा विभिन्न पत्र पत्रिकाहरुमा प्रकाशन गर्ने गरेको उल्ल्ेख गर्नुभयो । विद्यार्थीकालमा उहाँले गरेका साहित्यिक गतिविधिहरुको चर्चा गर्दै आफू बैंकिङ्ग सेवाबाट अवकाश लिए पछि साहित्यतर्फ बढी झुकाव रहेको विचार राख्नुभयो । सेवानिवृत्त भए पछि घुमफिर पनि बढेको र नियात्रा साहित्यतर्फ आफ्नो विशेष अभिरुचिका कारण यो कृति आउन सकेको हो भन्नुभयो । कृति विमोचन कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य बनाइदिनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै आयोजक धवल पुस्तकालयप्रति आभार व्यक्त गर्नुभयो।
लेखक तथा संस्कृतिकर्मी सोमनाथ अर्यालले कृतिमा सुस्ताको कुरा उठान गरिएकाले सुस्ताको जिज्ञासाले तानिएर आफू कार्यक्रममा उपस्थित भएको विचार राख्नुभयो ।
साहित्यकार खगेन्द्र बस्यालले आफूलाई जागिरे जीवनमा सरुवाको सन्दर्भमा पाल्पाको धेरै स्मरण हुने गरेको बताउनु भयो । कृतिकारको नियात्रासङ्ग्रह रोचक रहेको र उहाँका लघुकथाहरु पनि उत्तिकै सशक्त छन् भन्नुभयो । उहाँले धवल पुस्तकालय र कृतिका सन्दर्भमा केही मिठा बाछिटा कविता पनि सुनाउनु भयो ।
कृतिकारका विद्यार्थी जीवनका घनीष्ट साथी द्वय त्रिभुवन क्याम्पसका पूर्व क्याम्पस प्रमुख जीवन थापा एवम् दीव्यज्योति मावि कसेनीका पूर्व प्रधानाध्यापक, साहित्यकार नारायणप्रसाद अधिकारीले उहाँसंगका विद्यार्थी जीवन कालका रोचक स्मृतिहरु सुनाउनु भयो ।
पाल्पा साहित्य समाजका अध्यक्ष, साहित्यकार पुष्करराज रेग्मीले विनोद नेपालका कृतिहरु अब्बल रहेको विचार राख्दै उहाँ छेस्का लघु कविता उपविधाका प्रवर्तक पनि रहेको विचार राख्नुभयो । जीवनको उत्तरार्धमा पाल्पालाई माया गरेर धवल पुस्तकालयमा पुस्तक विमोचन गराउनु भएकोमा कृतिकारलाई धन्यवाद दिनुभयो । नारी उन्नयन सांस्कृतिक प्रतिष्ठानकी अध्यक्षा मन गहीरेले कृतिका लागि कृतिकारलाई बधाई ज्ञापन गर्नुभयो । पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्दप्रसाद भट्टराईले कृतिकार पत्रकारितासंग पनि सम्बन्धित रहेको र उहाँका लेख, रचनाहरु स्व. विनय कसजूले संचालन गरेको “सत्य” पत्रिकामा प्रकाशित हुने गरेको तथ्य उजागर गर्नुभयो ।
कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै धवल पुस्तकालय व्यवस्थापन समितिका सचिव टंकप्रसाद पन्थले काठमाण्डौका ठूला मञ्च र राष्ट्रिय स्तरमा हुने प्रचार–प्रसारको मोहलाई परै राखेर पाल्पामा कृतिको लोकार्पण गर्नु साहित्यकार विनोद नेपालको जन्मभूमि पाल्पाप्रतिको स्नेह हो भन्नुभयो । २०३५ सालदेखि साहित्यमा कलम चलाउन थाल्नुभएका नेपालले “देशपरदेश” नियात्रासङ्ग्रह (२०७६), “गोदान” लघुकथासङ्ग्रह (२०७७), “हल्लै हल्लाको देश”कवितासङ्ग्रह (२०७८) र “ससुरालीदेखि सुस्तासम्म” (२०८०) गरी चारओटा एकल कृतिहरु प्रकाशनमा आएको र अरु दर्जनौं लेख रचनाहरु फुटकर रुपमा प्रकाहित भएको जानकारी गराउनु भयो ।
कार्यक्रम धवल पुस्तकालयका महासचिव राजेशकुमार अर्यालको सञ्चालनमा चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय