पाल्पा, भदौ १४
नेपाली काँग्रेस प्रदेशसभा २ ‘ख’ को सम्मेलन सम्पन्न भएको छ । सम्मेलनका प्रमुख अतिथी लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री बीर बहादुर रानाले जिम्मेवारीलाई कर्म सम्झेर काम गर्न कार्यकर्ताहरुलाई अनुरोध गर्नुभएकोछ । ‘अरुलाई उपदेश दिनुभन्दा आफ्नो जिम्मेवारीलाई कर्म सम्झेर काम गर्नु पर्छ ।’ नेपाली काँग्रेसको प्रदेशसभा कार्यसमिति २ ख को सम्मेलनको उद्घाटन गर्दै रानाले सम्मेलन स्वमूल्याङ्कन गर्ने थलो भएको बताउदै पार्टीको वर्तमान अवस्थाको पहिचान गरी अगाडी बढ्न मार्ग निर्देशन प्रदान गर्ने उदेश्यले प्रदेश सम्मेलनको आयोजना भएको बताउनुभएको छ । ‘हामीले व्यवस्था परिवर्तन गरेपनि अवस्था परिवर्तन सोचेजस्तो भएको छैन् । अवस्था परिवर्तनको लागि कर्म गर्न छोड्न हुदैन ।’ वडातहदेखी नै सबै पदिय जिम्मेवारीमा रहनुभएका नेता तथा कार्यकर्ताहरुले आफ्नो जिम्मेवारी मात्रै पुरा गर्न सकेमात्रै पनि जनताको अवस्थामा परिवर्तन आउने उल्लेख गर्नुभयो । रानाले सम्मेलनले कार्यकर्ताहरुमा उत्साह थपेको उल्लेख गर्दै उर्जा लिएर जान सम्मेलनले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । प्रदेशसम्मेलनमा नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गहिरेले वडातहसम्मै पार्टीको प्रशिक्षण कार्यक्रम आयोजना गरिने उल्लेख गर्दै, तल्लो तहसम्मै पार्टी पुग्नेगरी काम गरिरहेको बताउनुभयो ।
लुम्बिनी प्रदेश सदस्य राम कार्कीले पार्टीका नेताहरुले एक अर्कोमा आरोप पत्यारोप नगरेर सबैले स्वमूल्याङ्कन गर्न आवश्यक रहेको बताउनुभयो । प्रदेश सम्मेलनमा सचिव शंकर भण्डारीले अहिलेसम्मको पार्टीको क्रियाकलापहरु र भावी योजना समेटेको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । भण्डारीले गएको स्थानीयतह निर्वाचन र संघ तथा प्रदेशको निर्वाचनमा गठबन्धनका नेताहरुलाई जिताउन प्रदेशले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै पार्टी गतिशिल अवस्थामा कार्यरत रहेको जानकारी दिनुभयो । ‘वाहिर भनिएजस्तो काँग्रेस गुट र फुटको अवस्थाबाट गुज्रेको छैन्, यो प्रदेशमा हाम्रा उम्मेदवारहरु अरुको तुलनमा धेरै निर्वाचिन भएका छन् । पार्टीको बैठक तथा कार्यक्रमहरु कार्ययोजना अनुसार नै भएका छन् ।’ कार्यपत्रमा भनिएको छ, जनताको अवस्था परिवर्तन गर्ने खालको क्रियाकलाप, पार्टीका गतिविधी र जनप्रतिनिधिहरु संगको समन्वयलाई बढाउदै लगिनेछ । सम्मेलनमा क्षेत्रिय सभापति मुक्तिराम जि.सी., रैनादेवी छहरा गाउँपालिकाका पूर्व अध्यक्ष राम बहादुर कार्की, रिब्दीकोट गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारी लगायतले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै पार्टीमा निर्वाचन हुनु र हारजित हुनु सामान्य भएको उल्लेख गर्नुभयो । उहाँहरुले नेतृत्व सकिन सक्छ, काँग्रेस सकिदैन, भन्दै काँग्रेस जनताको पार्टी भएकोले जनताको अपेक्षा अनुसार सच्चियर जाने बताउनुभयो ।
पाल्पाको रिब्दीकोट, रैनादेवी छहरा र तिनाउ गाउँपालिका समेटिएको प्रदेशसभा सम्मेलनमा तीनै पालिकाका पालिका सभापतिहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली काँग्रेस तिनाउका सभापति प्रेम पाण्डेय, रिब्दीकोट का.वा.सभापति चन्द्रमणी पोखरेल र रैनादेवी छहराका सभापति विष्णु पोखरेलले पार्टीको अवस्था बलियो बन्दै गएको बताउदै, भातृ संगठनहरुको नेतृत्व चयन, वैठक लगायतका कार्यक्रमहरु संचालन भएको जानकारी दिनुभयो । उहाँहरुले जनप्रतिनिधिहरुले पार्टीको संगठनलाई वलियो बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकोले पार्टी र जनप्रतिनिधिहरुको समन्वय बढाउनुपर्ने बताउनुभयो । सम्मेलनमा उपस्थित कार्यकर्ताहरुले जिज्ञासा तथा सुझाव राखेका थिए । सम्मेलनको अध्यक्षता गर्नुभएका प्रदेश सभापति रुक्माङ्गगत भट्टराईले प्रदेशसभा कार्यसमिति २ ख ले कार्यकर्ताहरुको सुझाव अनुसार नै नेतृत्वले काम गर्ने उल्लेख गर्नुभयो ।