सुशीला रेग्मी
रामपुर (पाल्पा), १५ साउन
अव्यवस्थित बसोबासीका लागी जग्गाधनी प्रमाण पुर्जा वितरण तथा नक्सा, श्रेस्ता हस्तान्तरण कार्यक्रम पाल्पाको रामपुरमा भएको छ । राष्ट्रिय भुमी आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा रहनुभएको हो । प्रमुख अतिथि नगर प्रमुख थापाले पाँच दशक अघि देखिको समस्याका रुपमा रहेको अव्यवस्थित घर घडेरीलाई निकै चुनौतीका बाबजुद जग्गाधनी प्रमाण पुर्जा दिन सफल भएको बताउनुभएको छ । नगरपालिकाका वडा नं ५, ६ र ७ का ७८३ घरघडेरी मध्ये ९७ प्रतिशत काम सम्पन्न भई प्रमाण पुर्जा प्रदान गरिएको बताउनुहुदै नगर प्रमुख थापाले ७०२ वटा सम्बन्धित घरघडेरी धनीलाई पुर्जा वितरण भएको बताउनुभयो । नगर सरकारले आन्तरिक खर्च व्यवस्थापन गरी छिटो छरितो काम सम्पन्न गरेर रसिदको भरमा भोगचलन गरेका स्थानीयलाई जग्गाधनी प्रमाण पुर्जा दिन सफल भएको बताउनुहुदै नगर प्रमुख थापाले यस कार्यमा सहयोग गर्ने समिति, कर्मचारी, सहजकर्ता, राजनैतिक दल तथा सरोकारवाला निकायलाई धन्यवाद दिनुभएको छ । जग्गाधनी प्रमाण पुर्जा पाएपछि बैंक तथा वित्तिय संस्थामा पुर्जा राखेर विभिन्न व्यावसाय संचालनका लागि ऋण लिन पाइने उहाँले बताउनुभएको छ ।
राष्ट्रिय भूमी आयोग पाल्पाका अध्यक्ष गैरे र रामपुर नगरपालिकाका प्रमुख थापाले मालपोत तथा नापी कार्यालय रामपुरलाई जग्गाधनी प्रमाण पुजाको नक्सा, श्रेस्ता हस्तान्तरण गर्नुभएको छ । एकसय १४ रोपनी ११ आना बराबरको घरघडेरीबापत रु ११ करोड ७७ लाख ९३ हजार बराबरको राजश्व नेपाल सरकारको खातामा जग्मा भएको छ । सोमवार ८७ वटा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । हातमा प्रमाण पुजा नहुदा आफुले दुखले बनाएको घर घडेरी आफ्नो हो भन्ने ढुक्क नहुनु र पुर्जा बैंक तथा वित्तिय संस्थामा राखेर विभिन्न व्यापार व्यावसायका लागि ऋण निकाल्न पाउँदा स्थानीयले निकै सास्ती भोग्नु परेको थियो । पुर्जा पाएपछि यहाँका स्थानीय खुशी छन् । विस्रं २०२५÷०२६ सालदेखि तत्कालिन गाउँ विकास समिति, स्कृल, क्याम्पसले रसिदको भरमा बिक्रि गरेका घरघडेरीले जग्गाधनी पुर्जा नपाउँदा स्थानीयले धेरै चुनौती खेप्दै आइरहेका थिए । लामो समय पश्चात् रामपुर नगर सरकार र राष्ट्रिय भूमी आयोग जिल्ला समिति पाल्पा, राजनैतिक दल, सरोकारवालाको जोडबलमा जग्गाधनी प्रमाण पुर्जा वितरणको काम भएको हो ।
राष्ट्रिय भुमि आयोग पाल्पाका जिल्ला सदस्य कृष्णप्रसाद अधिकारीको स्वागतबाट सुरु भएको कार्यक्रममा रामपुर नगरपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत चेमनप्रकाश पोखरेल, नगर प्रवक्ता कपिलबहादुर खाँण, नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले नगर अध्यक्ष विष्णुप्रसाद रेग्मी, नेकपा माओवादी केन्द्रका प्रतिनिधि लक्ष्मी ढकाल, नेकपा समाजवादी प्रदेश कमिटी सदस्य विनोद श्रेष्ठ, राष्ट्रिय जनमोर्चा रामपुर नगर कमिटी अध्यक्ष रामप्रसाद गैरे, पत्रकार सीता डोटेल लगायतले आफना भनाई राख्नुभएको छ । कार्यक्रमको संचालन राष्ट्रिय भुमी आयोग पाल्पाका सदस्य सचिव अर्जुन पौडेलले गर्नुभएको हो । जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यमा अहोरात्र खटेर काम गर्ने समिति, सहजकर्ता, कर्मचारीलाई सम्मान गरिएको छ ।
राष्ट्रिय भुमी आयोग पाल्पाका अध्यक्ष गैरेले पुर्जा तयार भएरपनि ४१ वटाको एकल दर्ता (श्रीमान् श्रीमती घरमा संगै नहुदा) भएकाले वितरण गर्न बाँकी, १३ वटा घरघडेरीको राजश्व नबुझाउँदा पुर्जा वितरण रोकिएको, एक वटाको घरघडेरी विवादित रहेको, नौवटाको तत्काल काम गर्ने प्रक्रियामा नरहेको (वन क्षेत्रभित्र र प्रकृतीले नछुट्टाइएको जग्गा), १७ वटा कित्ता गाँभिएको (एउटै निवेदकको दुई घडेरी जोडिएकाले कारणले गाँभिएको) जानकारी दिनुभएको छ । जिल्लामा दलित, भूमीहिन, सुकुम्वासीको समस्या समाधानमा पहिलो प्राथमिकता दिएर काम गर्ने अध्यक्ष गैरेले बताउनुभएको छ ।