सुशीला रेग्मी
रामपुर (पाल्पा), १२ असार
पाल्पाको रामपुर नगरपालिकाको सहयोगमा व्यावसाय गरेका विभिन्न महिला समुह तथा उद्यमी, फार्म, व्यावसायको अनुगमन गरिएको छ । रामपुर नगरपालिकामा क्रियाशिल पत्रकारको टोलीले अनुगमन गरेको हो ।
रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मुलन समाज (बेस) नेपालको सहजिकरणमा रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत सञ्चालित विभिन्न कार्यक्रमको अनुगमन भएको छ । पत्रकार सहितको टोलीले रामपुर नगरपालिका वडा नं ६, ७, ८ र १० मा रहेका विभिन्न महिला समुह, फार्म, व्यावसायको अनुगमन तथा निरिक्षण गरेको छ ।
परियोजनामा आबद्ध वडा नं ६ गैटार बस्ने कालिका स्वावलम्वन महिला उपहार समुहका कोषाध्यक्ष बिमला शाही, तालपोखरा स्वावलम्वन उपहार समुहका सदस्य हरिमाया घर्ती, रामपुर ७ भज्याङ्गबारी बस्ने श्रुती ढेँगा, वडा नं ८ को बराहटारमा राधा सार्की, रामपुर १० स्वामीभन्ज्याङ बस्ने सिर्जना सुनार, तल्लो कुमाउँगाउँ निवासी गंगादेवी कुमालले सञ्चालन गर्नुभएको व्यावसायीक बाख्राफार्मको अनुगमन कार्य भएको छ । परियोजनाको सहयोगमा बाख्रापालनलाई व्यवस्थित र दीगो आम्दानीको स्रोत बनाउन व्यवस्थित खोर निर्माण गरिएको छ । बाख्रापालनबाट आयस्रोत बलियो बनाउने र यसैबाट जीविकोपार्जन गर्ने गरी व्यावसाय गर्ने सहभागी महिला बताउँछन् । परियोजनाले बाख्रा उपहार तथा खोर निर्माणमा सहयोग गरेपछि महिलाहरु बाख्रापालनमा आकर्षित हुदै गएका छन् ।
साथै रामपुर १० कै होस्दीमा नगरपालिकाको युवा स्वरोजगार कार्यक्रम अन्र्तगत ज्ञानप्रसाद भण्डारीद्धारा सञ्चालित भण्डारी कृषि तथा पशुपालन फार्म, यमबहादुर सारुले सञ्चालन गर्नुभएको सारु बंगुर तथा कुखुरा फार्मको टोलीले अनुगमन गरेको छ । नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएका व्यावसायलाई व्यवस्थित गर्दै आयस्रोत बढाउँदै गएको पाइएको छ ।

अनुगमनमा गएको पत्रकारको टोलीले रामपुर १० को तल्लो कुमालगाउँमा मनकामना महिला स्वावलम्वन समुह, स्वामीभन्ज्याङ्गको सत्यवती स्वावलम्वन महिला समुहमा आबद्ध सदस्यसंग बाख्रापालन व्यावसाय सम्बन्धी छलफल तथा अन्र्तक्रिया गरेको छ । समुहमा आबद्ध रहेका महिलालाई नगरपालिकाको आर्थिक सहयोगमा परियोजनाले माउ बाख्रा वितरण तथा, बाख्रापालन सम्बन्धी तालिम, जुकामाटेको औषधी लगायतको सहयोग गरेपछि आधुनिक प्रविधिबाट बाख्रापालन व्यावसाय अवम्लवन गर्न थालेका छन् ।
रामपुर नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन बाख्रा उपहार प्रदान गरेपछि व्यावसायीक बाख्रापालनमा लागेका छन् । तल्लो कुमालगाउँमा मनकामना महिला स्वावलम्वन समुहका अध्यक्ष गंगा कुमाल, स्वामीभन्ज्याङ्गको सत्यवती स्वावलम्वन महिला समुहका अध्यक्ष सिर्जना विकको अध्यक्षतामा छुट्टाछुट्टै स्थानमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम भएको छ । अन्र्तक्रियाको क्रममा सहभागी महिलाले परियोजनाले एक सदस्यलाई एकवटा उपहारको रुपमा बाख्रा वितरण गरेपछि व्यावसायीक रुपमा बाख्रापालन गर्न आफुले अन्य बाख्रा थप्दै गएको बताएका छन् । परियोजनाले पाँचवटा माउ बाख्रापालन गर्ने सदस्यलाई २० हजारसम्म खोप निर्माणमा सहयोग गर्ने गरेको छ ।
परियोजनामा आबद्ध तथा नगरपालिकाको युवा स्वरोजगार कार्यक्रममा छनौट भई व्याज अनुदान कार्यक्रममा सहभागी युवा तथा महिला समुहले व्यावसायीक रुपमा राम्रो कार्य गरिरहेको अनुगमनमा सहभागी नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्लले बताउनुभएको छ । रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक सन्जु परियारको संयोजकत्वमा अनुगमनमा पत्रकार महासंघका जिल्ला सदस्य दुर्गेश मल्ल, रामपुर नगरपालिकाका प्रेस सल्लाहकार दानबहादुर हिस्की, राष्ट्रिय समाचार समितिका प्रतिनिधि सुशीला रेग्मी, सबल न्युज डटकमका सम्पादक सीता डोटेल, एभिन्युज टेलिभिजनका इमान सिं राना, सामुदायिक रेडियो रामपुरका शोभाकान्त पाठक, कटुवाल खबर डटकमका प्रकाश ज्ञवाली सहितको टोलीले अनुगमन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय