
पाल्पा, असार ३
तानसेन नगरपालिका–१ भूसालडाँडास्थित एक हाेटलबाट न्गदसहित १० जुवाडे पक्राउ परेका छन् । ६६ हजार भन्दा बढी नगद रकमसहित १० जुवाडे स्थानीय नेताहरू पक्राउ परेका हुन् ।



जिल्ला कार्यालय पाल्पाबाट खटेको प्रहरी टाेलीले भूसालडाँडास्थित गुल्मी रेसुङ्गा ताल्तुङ्ग होटल रहेको घरको तेस्रो तलबाट जुवाडेलाई पक्राउ गरेको हाे । प्रहरीले उनीहरुको साथबाट ६६ हजार ८ सय २५ रकम समेत बरामद गरेको जनाएको छ । प्रहरीले लामो समयदेखि जुवाखाल सञ्चालन भइरहेको भन्ने गोप्से सुचनाको आधारमा खोजतलास गर्दा कोठाभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा तानसेन १ र बगनासकाली गाउँपालिकाका राजनीतिक दलका जिम्मेवार नेताहरू रहेकाे बताइएकाे छ । जिल्ला प्रहरी कार्यालयले उनीहरूकाे नाम सार्वजनिक गरेकाे छैन । नेताहरू बारम्बार जुवा खेलिरहने गरेकाे सूचना प्रहरीलाइ पहिलेदेखी नै रहेकाे र बारम्बार नखेल्नकाे लागि अाग्रह गरेकाे तर अटेर गरेपछि पक्राउ गरिएकाे सेराेफेराे स्राेतकाे दाबी छ । उनीहरू प्रहरीकाे ठूलाे टाेली घरघेरेपछि पक्राउ परेका हुन् भने केही भाग्न समेत सफल भएकाे बताइएकाे छ ।
प्रहरीले उनीहरुको साथबाट २ हजार १५ थान रातो, निलो रङ्गका तासको पत्ति पनि फेला पारेको छ । जुवाडेलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय पाल्पाबाट मुलुकी अपराध संहिता २०७४ दफा १२५ बमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।