पाल्पा, रामपुर नगरपालिकाले आफ्नो एक वर्षे कार्य सम्पादन प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भए संगै नगर प्रमुख रमण बहादुर थापाले विहिबार पत्रकार भेटघाट कार्यक्रम मार्फत वार्षिक कार्य सम्पादन प्रगति प्रतिवेदन सार्वजनिक गर्नु भएको हो ।
२०७९ वैशाख ३१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित रामपुर नगरपालिकाका जनप्रतिनिधिले जेठ ०६ देखि कार्यभार सम्हालेका थिए । दोस्रो कार्यकालको एक वर्ष बिते पनि प्रमुख थापाले नगरको नेतृत्व गरेर छ वर्ष बिताउनुभएको छ । नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको अवसरमा २९ बुँदाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै थापाले बर्ष उपलब्धिमूलक र सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो एक बर्षको अवधिमा गरिएको कार्य सम्पादनको आधारमा यो बर्ष उपलब्धिमूलक र सफल भएको महसुस गरेको छु ।”

यस अवधिमा झण्डै ५० बर्ष देखि पुर्जाविहिन जग्गाधनीहरुलाई नगरपालिकाको विषेश पहलमा राष्ट्रिय भूमि आयोग मार्फत रामपुर नगरपालिका वडा नं. ५, ६ र ७ का दर्ता भएका ७ सय ८३ मध्ये ६ सय १६ अव्यवस्थित जग्गाधनीहरुलाई लाल पुर्जा वितरण गर्न सफल भएको बताउनुभयो । उहाँले ७ सय ८३ मध्ये वितरण गर्न बाँकी जग्गाको प्रमाण पुर्जा यही आर्थिक बर्ष भित्रमा वितरण गर्ने तयारी भैरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “झण्डै ५० बर्ष देखि पुर्जाविहिन जग्गाधनीहरुलाई नगरपालिकाको विषेश पहलमा साविक रामपुर गाविस हाल रामपुर नगरपालिका वडा नं. ५, ६ र ७ का दर्ता भएका ७ सय ८३ मध्ये ६ सय १६ जग्गाधनीहरुलाई लाल पुर्जा वितरण गरि सम्पत्तिको मालिक बनाईएको छ । ७ सय ८३ मध्ये वितरण गर्न बाँकी जग्गाको प्रमाण पुर्जा यही आर्थिक बर्ष भित्रमा वितरण गर्ने तयारी छ ।”

साथै भूमिहिन दलित,भूमिहिन सुकुम्बासी र अन्य अव्यवस्थित जग्गाहरुको प्रक्रियाको काम पनि शुरु गराउँदै नगरभित्रका ९४ रोपनी १३ आना क्षेत्रफल जग्गाको लाल पुर्जा वितरण गरि १० करोड २४ लाख ९ हजार ६ सय २७ रुपैयाँ राजस्व संकलन भई राष्ट्रिय भूमि आयोगको खातामा दाखिला भएकोे बताउनुभयो । थापाले एक वर्षको अवधिमा नगरमा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य काम भएको बताउनुभयो । निर्माणाधिन कालिगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका क्षेत्रको वडा नं. ५ को मटेरी ठुलोटार र वडा नं. २ को भलायटारमा विवादका कारण अबरुद्ध सडक निर्माण कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो । पूर्वाधार तर्फ ३.१७ किलो मिटर सडक कालोपत्रे निर्माणाधिन अवस्थामा रहेको भन्दै १७.८७ किलोमिटर सडक ग्राबेल, ९.५२ किलो मिटर सडक नयाँ ट्रयाक, ४.८३ किलो मिटर पक्कि नाली निर्माण, २.३९ किलोमिटर पक्कि कुलो निर्माण गरिएको जानकारी दिनुभयो । स्वास्थ्य तर्फ १ वटा भवन , २० वटा सामुदायिक भवन र २२ वटा ट्रस भवन निर्माण सम्पन्न गरिएको बताउँदै शिक्षा तर्फ ५ वटा भवन र स्वास्थ्य तर्फ १ भवन निर्माणाधिन अवस्थामा रहेको बताउनुभयो । १२ वटा टंकी निर्माण र १ लिफटिङ खानेपानी योजना सम्पन्न गरिएको जानकारी दिनुभयो ।

थापाले महिलाहरुलाई विभिन्न वडामा आवश्यकता र चाहाना अनुसार तालिम दिई उद्यमी बनाउन सफल भएको बताउँदै उत्पादित सामाग्रीको बजारिकरणमा पहल गर्ने बताउनुभयो । युवा स्वरोजगार मार्फत रोजगार सृजना गर्नुका साथै  कृषि र पर्यटन क्षेत्रमा पनि कार्य भैरहेको  उल्लेख गर्नुभयो । जेष्ठ नागरिक ग्राम तथा अपाङ्गता गृहको लागि प्रक्रिया अघि बढेको जानकारी दिदै रामपुर क्षेत्रमा कार्यरत मजदुरहरुको सुरक्षाको लागि विमा कार्यक्रम लागु गरिएको बताउनुभयो । साथै नगरपालिकाबाट प्रवाह हुने सेवालाई डिजिटल प्रविधियुक्त बनाउने कामको शुरुवात गरिएको जानकारी दिनुभयो ।

नगरपालिकाले आन्तरिक आम्दानी वृद्धिका लागि  करको दर भन्दा पनि करको दायरा बढाउनु पर्छ भन्ने हेतुले विभिन्न क्षेत्रबाट राजश्व संकलन गरिएको बताउनुभयो । आन्तरिक आम्दानीमा बृद्धिका लागि नगरपालिकाले ग्रेडर , रोलर , ब्याकहो लोडर खरिद गरि सञ्चालन गर्दै आएको स्पष्ट पार्नुभयो । हाल सम्म नगरपालिकाले आन्तरिक आय मार्फत २ करोड ६४ लाख १७ हजार ९ सय ७९ रुपैयाँ राजश्व संकलन गरेको छ । गत वर्ष बजेट निर्माणको क्रममा तोकिएको आन्तरिक आय वातावरण प्रभाव मुल्याङ्कन भएको कालीगण्डकी क्षेत्र बाट नदिजन्य पदार्थ उत्खनन् गर्न नपाएको र लालपूर्जा वितरणको राजस्व राष्ट्रिय भूमि आयोगमा मात्र जाँदा लक्ष्य अनुसार प्राप्त नभएको बताउनुभयो । थापाले निर्वाचित भए पश्चात नगरको समृद्धि र विकासका लागि सबै क्षेत्र , वर्ग र समुदाय संगको समन्वय र सहकार्यका साथ अगाडी बढि रहेको र नगरबासीको माग, आवश्यकता र चहानालाई ध्यानमा राखी विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नागरिकलाई न्यायको प्रत्याभुति दिलाउनका लागि न्याय सम्पादनको कामलाई न्यायोचित रुपमा अगाडी बढाईएको बताउनुभयो । १० वटै वडाको मेलमिलाप केन्द्रलाई व्यवस्थित बनाउन सहजिकरणको कार्य भएको बताउनुभयो । न्यायिक समितिमा यस वर्ष ८१ वटा निवेदन परेको मध्ये ५७ वटा मिलापत्र गरिएको र  २ वटा अदालत पठाईएको जानकारी दिनुभयो । जसमध्ये छलफलको प्रक्रियामा ९ वटा र १३ वटा छलफल हुन बाँकी रहेको छ । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले प्राशनिक सेवालाई सहज र सरल बनाउनका लागि कार्य हुँदै आएको बताउनुभयो । उहाँले योजनाका कामलाई सहज बनाउन उपभोक्ता समितिलाई प्रदान गरिएको तालिमले फस्र्यौटमा सहज बनाएको बताउनुभयो । दरबन्दी अनुसार स्थायी कर्मचारी परिपूर्ति हुने क्रममा रहेको बताउँनुभयो ।

कार्यक्रमको अवसरमा रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँण, वडा नं. २ का वडा अध्यक्ष कृष्ण बहादुर दर्जी, वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर राना, वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, वडा नं. ७ वडा अध्यक्ष दोवराज तिवारी र वडा नं. ९ का वडा अध्यक्ष डिल बहादुर रानाले वडामा भएका कार्य प्रगति प्रस्तुत गर्नु भएको थियो । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम उपप्रमुख बालकुमारी थापाको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय