सुशीला रेग्मी
रामपुर (पाल्पा), ९ जेठ
वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि वैदेशिक रोजगार अभिमुकीकरण कार्यक्रम पाल्पाको रामपुरमा भएको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान बुटवलको आयोजनामा कार्यक्रम भएको हो । प्रतिष्ठानका सुमन पन्तको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा रहनु भएको हो । नगर प्रमुख थापाले कामका लागि मात्रै नभई अध्ययन तथा विभिन्न काममा लागि विदेश जाने क्रममा धेरै कुरा सिक्नुपर्ने बताउनु भएको छ । विदेशमा जादा कतिपय सामान्य कुरामा जानकारी नहुदा धेरै अप्ठ्यारा स्थिति भोग्नु परेको बताउनुहुदै विदेशमा रोजगारको क्षेत्रमा मात्र नभई अध्ययन पूरा गरेर स्वेदशमा काम गर्ने वातावरण राज्यले तयार गर्नुपर्ने बताउनुहुदै नगर प्रमुख थापाले त्यसको लागि स्थानीय सरकारले सहयोग गर्ने बताउनु भएको छ । उहाँले सीप सिकेर सानो कामबाट पनि आफ्नो जिविकोपार्जन गर्न सकिन्छ, कामलाई सानो ठुलोमा दाज्न हुदैन, गाउँमै बसेर विभिन्न पेशा, व्यावसाय गर्न चाहने युवालाई नगर सरकारले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत दुईवर्ष सम्मका लागि ३० लाखसम्म व्याज अनुदान दिइरहेको जानकारी दिनु भएको छ ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष दिवाकर देवकोटाले कमाउनकै लागि वैदेशिक रोजगारमा जानुपर्दैन, हातमा सीप छ भने स्वदेशमा बसेर विभिन्न पेशा, व्यावसाय गरेर जिविकोपार्जन गर्न सकिने बताउनु भएको छ । कार्यक्रमको संचालन रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान बुटवलका प्रशिक्षक भोजराज न्यौपानेले गर्नुभएको हो ।
रामपुर नगरपालिका वडा नं ६ को समन्वयमा भएको अभिमुखीकरण कार्यक्रममा वैदेशिक रोजगारमा जान ईच्छुक तथा गएर फर्केका युवा, विद्यार्थी लगायत करिव १५० जनाको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान बुटवलका भोजराज न्यौपाने, राजु पन्थी, दिपक नेपाल, सुमन पन्तले गर्नुभएको छ । सहभागीलाई श्रम स्वीकृती लिने, म्यानपावर कम्पनी संगको सहकार्य, पैसा कसरी तिर्ने, प्लेनमा कसरी बस्ने, विदेशमा पुगिसकेपछि राजदुतावाससंग सम्पर्क गर्ने तरिका लगायतका बारेमा जानकारी दिइएको छ । कार्यक्रम होटल नमस्ते पाल्पामा आयोजना भएको हो । बुधवार रामपुर नगरपालिका ५ को समन्वयमा र विहिवार वडा नं ७ को समन्वयमा कार्यक्रम हुदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय