तानसेन, पाल्पा । नारायण युवा क्लबको २९औँ वार्षिकोत्सवको अवसरमा तानसेनस्थित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको अमरनारायण मन्दिर तथा फूलबारी परिसरमा शनिबार बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो। अमरनारायण मन्दिर तानसेनको पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएकाले यसको सरसफाइ, संरक्षण तथा प्रवर्द्धनमा नगरपालिकाले आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। नगरप्रमुख श्रेष्ठले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोडेर सरसफाइ अभियान सञ्चालन गरेको भन्दै नारायण युवा क्लबको प्रशंसा गर्नुभयो। युवाहरूको सक्रिय सहभागिताले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उहाँको भनाइ थियो।

क्लबका संस्थापक अध्यक्ष हिमालदत्त श्रेष्ठले स्थापना कालदेखि नै सामाजिक सेवा, सम्पदा संरक्षण तथा युवालाई समाजसेवामा जोड्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको बताउनुभयो। अमरनारायण मन्दिर तथा फूलबारी परिसरमा सञ्चालन गरिएको सरसफाइ अभियानले धार्मिक सम्पदाको संरक्षणसँगै वातावरणीय सचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै उहाँले यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र पञ्जियार थारु, सशस्त्र प्रहरी बल नेपाल गुल्मका प्रहरी नायब उपरीक्षक, तानसेन नगरपालिका–२ का वडा अध्यक्ष, पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष, तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष तथा अमरनारायण गुठी व्यवस्थापन समितिका अध्यक्ष युवराज पौडेललगायतको विशिष्ट आतिथ्यता रहेको थियो।

सरसफाइ अभियानमा नारायण युवा क्लबका पदाधिकारी, सदस्य तथा सल्लाहकार, दी फेमस महिन्द्रा गणका जवान, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वडा नं. २ अन्तर्गतका विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, नाटा च्याप्टर पाल्पाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

अभियानका क्रममा सहभागीहरूले अमरनारायण मन्दिर तथा फूलबारी परिसरको सरसफाइ गर्दै धार्मिक तथा पर्यटकीय सम्पदाको संरक्षणमा सामूहिक जिम्मेवारी आवश्यक रहेको बताएका थिए। यस्ता अभियानले वातावरण संरक्षण, सांस्कृतिक सम्पदाको संवर्द्धन तथा सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वाससमेत उनीहरूले व्यक्त गरेका थिए।

क्लबका अध्यक्ष बिनायक महर्जनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा सुरक्षाकर्मीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय