latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

“गाउँमा सबैले उहाँलाई प्रेम सरको नामले चिन्छन् । लामो समयसम्म विद्यालयको प्रधानाध्यापकका रूपमा सेवा गर्नुभएकोले मस्याम क्षेत्रमा उहाँको छुट्टै पहिचान बनेको छ । सामान्य कृषक परिवारमा जन्मनुभएका प्रेमबहादुर राना २०८१ सालमा शिक्षण पेशाबाट अवकाश लिएपछि आफ्ना छोरीहरूलाई भेट्न अमेरिका जानुभएको थियो । केही समय अमेरिका बसाइपछि हालै स्वदेश फर्किनुभएका राना २०५१ सालदेखि नै शिक्षण पेशासँगै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको थियो ।

२०६१ सालमा स्थायी शिक्षक बनेपछि उहाँले आफ्नो जिम्मेवारीलाई थप गम्भीरतापूर्वक निर्वाह गर्नुभयो । त्यसपछि २०६४ सालदेखि २०८१ सालसम्म लक्ष्मी आधारभूत विद्यालय, तिनाउँ–६ चिदिसमा प्रधानाध्यापकको रूपमा कार्यरत रहँदै विद्यालयको समग्र विकासमा महत्वपूर्ण योगदान दिनुभयो । उहाँको नेतृत्वमा विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र व्यवस्थापन सुधारमा उल्लेखनीय प्रगति भएको स्थानीयहरू बताउँछन् । २०२० सालमा स्थापना भएको उक्त विद्यालयलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन उहाँले खेलेको भूमिका आज पनि समुदायले स्मरण गर्छ ।

शिक्षण पेशामा रहँदा उहाँ शिक्षक संघमा आवद्ध हुनुहुन्थ्यो । शिक्षकहरूको पेशागत हकहित, सेवा सुविधा र शैक्षिक सुधारका मुद्दामा उहाँ निरन्तर सक्रिय रहनुभयो । साथै, कांग्रेसको विभिन्न राजनीतिक अभियानमा समेत उहाँले साथ र सहयोग गर्दै आउनुभएको थियो ।

अवकाशपछि पनि धेरै अवसर आउन सक्थे । ‘म पार्टीमा रहेर व्यक्तिगत रूपमा धेरै अवसर पाउन सक्थेँ । तर देश र समाजको हितलाई प्राथमिकता दिनुपर्छ भन्ने लाग्यो,’ उहाँ भन्नुहुन्छ । उहाँका अनुसार समयक्रमसँगै पुराना दलप्रति जनतामा विश्वास घट्दै गएको अनुभव उहाँले प्रत्यक्ष रूपमा महसुस गर्नुभयो । यही कारण उहाँले आफ्नो लामो राजनीतिक आस्था रहेको कांग्रेस परित्याग गरी फागुन महिनाको आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभयो ।

‘अब पुरानो शैलीको राजनीति चल्दैन । सत्ता परिवर्तन भइरहे पनि जनताको जीवनमा परिवर्तनको अनुभूति हुन सकेन,’ उहाँले भन्नुभयो । उहाँका अनुसार नयाँ राजनीतिक संस्कार, पारदर्शिता र उत्तरदायित्वप्रति प्रतिबद्ध देखिएको कारणले पनि आफू रास्वपाप्रति आकर्षित भएको हो ।

रानाले आफ्नो व्यक्तिगत स्वार्थभन्दा देशको भविष्य र युवापुस्ताको आशालाई प्राथमिकता दिएको बताउनुहुन्छ । ‘म अवसर खोज्ने राजनीतिमा होइन, परिवर्तनको यात्रामा सहभागी हुन चाहन्छु,’ उहाँको भनाइ छ । उहाँका अनुसार गाउँस्तरमै पुराना दलप्रति निराशा र नयाँ शक्तिप्रति आशा बढिरहेको छ ।

उहाँका अनुसार रास्वपाको अभियान अहिले टोलटोल र घरघरमा पुगिरहेको छ । ‘गाउँमा पहिले जस्तो राजनीतिक उत्साह छैन । तर नयाँ विकल्पप्रति उत्सुकता र विश्वास बढिरहेको छ । यसपटक धेरैले घण्टीमै मत दिने बताएका छन्,’ प्रेमबहादुरले दाबी गर्नुभयो ।

‘देशलाई बदल्न अब नयाँ सोच, नयाँ शैली र इमान्दार नेतृत्व आवश्यक छ । म त्यसै अभियानमा लागेको हुँ,’ उहाँले थप्नुभयो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय