फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पाल्पा क्षेत्र नं. २ का उम्मेदवार टोप अस्लामीले मतदाता समक्ष आफ्ना प्रस्ताव तथा अपील सार्वजनिक गर्नुभएको छ।
तानसेनमा आयोजित पत्रकार सम्मेलनमार्फत हात मिलाएको चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रनुभएका अस्लामीले शान्त, समृद्ध, स्वावलम्बी र आधुनिक नेपाल निर्माण आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो। उहाँले विभेद, बेरोजगारी र भ्रष्टाचारको अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्नुभयो।



उहाँले पाल्पालाई पुनः शैक्षिक केन्द्रका रूपमा स्थापित गर्ने, मगर, कुमाल र बोटे भाषाको प्रवर्द्धनका लागि स्थानीय पाठ्यक्रममा सामग्री तयारी गर्ने तथा विभिन्न जातजातिका भाषा संरक्षणका लागि आवश्यक नीति र बजेट व्यवस्थापनमा राज्यको जिम्मेवारी सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै कला–संस्कृतिको संरक्षणमा सकारात्मक विभेदको नीति अवलम्बन गर्न पहल गर्ने, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवर्द्धन तथा “पढ्दै कमाउँदै” अभियान सञ्चालन गर्ने एजेन्डा पनि सार्वजनिक गर्नुभयो।
धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्पदाको संरक्षण तथा धार्मिक पर्यटन प्रवर्द्धनमार्फत आयआर्जन बढाउने नीति निर्माणमा जोड दिने उहाँको भनाइ छ। आदिवासी तथा जनजातिका भाषा, कला र संस्कृतिको संरक्षणमा विशेष प्राथमिकता दिइने बताइएको छ।
उम्मेदवार अस्लामीले संघीय सरकारका धेरै अधिकार स्थानीय तहमा हस्तान्तरण गरी स्थानीय सरकारलाई सशक्त बनाउनुपर्ने, भ्रष्टाचारमुक्त नेपाल निर्माणमा युवाको सहभागिता बढाउनुपर्ने तथा औद्योगिकीकरण, रोजगारी सिर्जना, शिक्षा सुधार, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेशमै लगानी गर्ने वातावरण निर्माण र संविधान पुनर्लेखनजस्ता एजेन्डा लिएर आफू मतदातामाझ गएको जानकारी दिनुभयो।









