रामपुर-६, कालीआँपमा मोटरसाईकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । कालीगण्डकी करिडोर अन्तर्गत कालीआँपमा भएको दुर्घटनामा मृत्यु हुनेमा रामपुर नगरपालिका-७ मझुवाका ६४ वर्षीय श्यामबहादुर सेन ठकुरी रहेको प्रहरीले जनाएको छ ।
बिहीबार बेलुकी ६ बजेतिर कालीगण्डकी करिडोर हुँदै रामपुर-१० बर्दलेबाट बेझाँडतर्फ आउँदै गरेको लु ७८ प २८०७ नम्बरको मोटरसाइकलले पैदल यात्रा गरिरहेका सेनठकुरीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते हुनुभएका सेनलाई उद्धार गरी रामपुर अस्पताल ल्याएर उपचार गर्ने क्रममा उहाँकाे साढे सात बजे निधन भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लाल बहादुर सुनारले बताए ।
पैदलयात्रीलाई ठक्कर दिएर दुर्घटना हुँदा मोटरसाइकल चालक र मोटरसाइकलको पछाडि सवार व्यक्ति समेत घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक रामपुर नगरपालिका–६ तिलकपुर बस्ने २३ वर्षीय हिमाल राना र २१ वर्षीय मेघबहादुर खन्गाहा छन् । रानालाई थप उपचार गर्न तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको छ ।












